जिल्ला प्रशासन कार्यालय धादिङबाट सेवा लिने सेवाग्राहीको संख्या एक सातायता ह्वात्तै बढेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी (पासपोर्ट)जस्ता अत्यावश्यक कागजपत्र बनाउनेको चाप विगतको तुलनामा झन्डै दोब्बर पुगेको हो।
जिल्ला प्रशासन कार्यालय धादिङबाट सेवा लिनेहरूको संख्या माघयता दोब्बर भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए। ‘विगतमा भन्दा माघ महिनामा सेवाग्राहीहरू अझै बढेका छन्। झन्डै दुई गुणाले सेवाग्राहीहरूको चाप छ,’ उनले भने, ‘कर्मचारीहरूलाई भार र गाह्रो भए पनि हामीले कार्यालय समयमा नभ्याएकाहरूलाई थप समयमा पनि सेवा प्रवाह गरिरहेका छौँ।’
प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार यसअघि दैनिक रूपमा करिब ५० जनाले नागरिकता, ५० जनाले राष्ट्रिय परिचयपत्र र ३५ जनाले राहदानी बनाउँदै आएकोमा हाल नागरिकता बनाउनेको संख्या करिब एक सय र राष्ट्रिय परिचयपत्र ११० जनासम्म पुगेको छ। बनिसकेका राष्ट्रिय परिचयपत्र र राहदानी लिन आउने सेवाग्राहीको चाप भने उस्तै रहेको उनले बताए।
माघेसंक्रान्ति र आसन्न निर्वाचनका कारण घर फर्किएका नागरिकले कागजपत्र बनाउने अवसरको रूपमा उपयोग गरेकाले सेवाग्राहीको भिड बढेको हुन सक्ने उनले बताए। ‘कार्यालय समयमै सेवा नपुगेकाहरूका लागि अतिरिक्त समयसमेत दिएर छिटोछरितो सेवा प्रवाह गरिरहेका छौँ,’ उनले भने।