लगातार चार दिन बढेको नेप्से परिसूचक पाँचौँ दिनमा ओरालो लागेकाे छ। बुधबार नेप्से ९.४३ अंक (०.३४ प्रतिशत)ले घटेर दुई हजार ७०५.३८ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.२८ प्रतिशतले घटेको छ।
आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ११ अर्ब ७३ करोडको सेयर कारोबार भएकोमा बुधबार आठ अर्ब ९२ करोड २६ लाखमा सीमित भएको हो। आज ३२४ कम्पनीका दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८९ हजार ७६६ पटक खरिद–बिक्री भए।
नेप्सेका १३ समूहमध्ये आज ‘अन्य’ सूचक ०.२६ प्रतिशतले बढ्दा बाँकी सबै समूहमा गिरावट देखिएको छ। वित्त, होटेल तथा पर्यटन र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका हुन्।
बजार घटे पनि कालिका पावर र नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाए। यी कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको हो।
सर्वाधिक गुमाउनेमा भने गुराँस लघुवित्तका लगानीकर्ता छन्। सो कम्पनी पाँच प्रतिशतभन्दा धेरैले ओरालो लाग्दा मन्जुश्री फाइनान्स चार प्रतिशतभन्दा धेरै घटेको छ।