प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीका ४ निर्वाचन क्षेत्रबाट १२४ पुरुष र १९ महिलासहित कुल १४३ को उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा ५६ दलगत र ८७ स्वतन्त्र उम्मेदवार छन् । महोत्तरीमा मतदाता सूचीमा जम्मा दुईजना यौनिक तथा लैंगिक अल्पसंख्यक रहे पनि कुनै दलबाट वा स्वतन्त्रबाट उनीहरूको उम्मेदवारी परेन ।
महोत्तरी क्षेत्र १ बर्दीबासस्थित निर्वाचन कार्यालयमा दलबाट १३ र स्वतन्त्र १४ गरी २७ मनोनयन दर्ता भएकोमा उम्मेदवारी दर्ता गराएकोमा २२ पुरुष र पाँच महिला छन् । त्यस्तै क्षेत्र २ बाट १५ दलगत र २२ स्वतन्त्र गरी कुल ३७ जनाको उम्मेदवारी परेकोमा सोमध्ये ३२ पुरुष र पाँच महिला छन् । यता क्षेत्र ३ मा दलबाट १५ र स्वतन्त्र २७ गरी कुल ४२ जनाको उम्मेदवारी परेकोमा ४० पुरुष र दुई महिला छन् । त्यस्तै, क्षेत्र ४ मा दलबाट १३ र स्वतन्त्र उम्मेदवारी २४ परेकोमा अन्य क्षेत्रभन्दा महिलाको सहभागिता थोरै बढी देखिएको छ । यस क्षेत्रमा सात महिला र ३० पुरुष उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चारै निर्वाचन क्षेत्रमा परेको मनोनयनउपर माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय रहेको बताउँदै सोपछि ५ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म परेको उजुरीउपर छानबिन हुने जनाइएको छ । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले माघ ८ गते साझ ५ बजे देखि ७ बजेसम्म नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाउँदै माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने बताए। मुख्य निर्वाचन अधिकृत अधिकारीले माघ ९ गते १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोपछि निर्वाचन चिह्न प्रदान गरिने जनाएका छन्।