अनलाईन राइड सेयरिङ एप पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्न्यातले काठमाडौं–१बाट आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयम पुगेर उनले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको अनुभवले नै आफूलाई यो निर्णयमा पुऱ्याएको बस्न्यातको भनाइ छ। उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदाहुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थले राजनीतिमा जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गरेका छन्।
“म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ,” भन्दै बस्न्यातले आफ्नो उम्मेदवारीको उद्देश्य स्पष्ट पारेका छन्।
उनका मुख्य एजेन्डामा उद्यमशीलता र स्टार्टअप प्रवद्र्धन, जवाफदेहिता र पारदर्शिता, तथा अनुभव र नयाँ सोचलाई जोड्ने पहल रहेका छन्। युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।
त्यस्तै, काम गर्नेले जवाफ दिनुपर्ने र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्ने संस्कार स्थापित गर्नु नै सुशासनको आधार भएको उनको धारणा छ। अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यलाई मजबुत बनाउने पहलमार्फत दिगो परिवर्तन सम्भव हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
बस्न्यातले यो यात्रा एक्लै सम्भव नहुने उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सक्रिय सहभागिताको आवश्यकता औंल्याएका छन्। “तपाईंहरूसँगै एक–एक पाइला अघि सार्दै परिवर्तनको लडाईं लड्नु छ,” उनले भनेका छन्।