प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)बाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्लाको विकासमा आफूले गरेको योगदान नै जितको मुख्य आधार भएको बताएका छन्।
मंगलबार रुकुमपश्चिममा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका शर्माले आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले प्रचण्ड रुकुमपूर्व आएको टिप्पणी गरे। उनले रुकुमपूर्वमा आफूले गरेको काममा जस लिन आइपुगेको बताउँदै भने, ‘मैले हेलिकोप्टरबाट डोजर झारेर बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए।’
रुकुमपश्चिममा जनार्दन शर्मा र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यहाँ नेपाली कांग्रेसका राजु केसी, एमालेका नन्दराम देवकोटा, राजमोका सत्यनारायण श्रेष्ठ, रास्वपाका ई. मानबहादुर शाही, नेकपा (माओवादी)का चन्द्र सी, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी देवकोटा, आम जनता पार्टीबाट प्रेमा दमाईं नेपाली र नेकपा संयुक्तबाट शेरबहादुर केसी उम्मेदवार रहेका छन्।