- प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले १३ र १४ पुसमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्, आज १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै
- उम्मेदवारी दर्ताका लागि हरेक क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय छ । मनोनयनका लागि १० हजार धरौटी बुझाउनुपर्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय वा विपन्न उम्मेदवारलाई ५०% छुट दिइएको छ । उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरैको जुलुस लैजान नपाउने निर्वाचन आचारसंहितामा व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता मंगलबार हुँदै छ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार मंगलबार बिहानसम्म टुंग्याउने तयारी छ ।
एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपवादबाहेक सबै क्षेत्रमा उम्मेदवार तय गरेका छन् । शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । टिकट पाएका अधिकांश उम्मेदवारहरू पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
एमाले अध्यक्ष केपी ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व र नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगिसकेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह मनोनयन दर्ता गर्न सोमबार मध्यरात झापा पुगेका छन् । रास्वपा सभापति रवि लामिछाने जनकपुरको कार्यक्रम सकेर चितवनतिर लागेका छन् ।
मनोनयन दर्ताका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । निर्वाचन कार्यालयहरूले दल र उम्मेदवारहरूलाई मनोनयन दर्ताको समयसमेत तोकिसकेका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन दर्ता गर्दा १० प्रकारका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । यसमा नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक हुन्छ । साथै, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा, वा ती निकायको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्तिले सो पदबाट राजीनामा दिएको निस्सा पनि पेस गर्नुपर्नेछ ।
प्रचलित कानुनअनुसार योग्यता पुगेका व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एकजना प्रस्तावक र एकजना समर्थकको विवरण तथा हस्ताक्षरसहितको मनोनयनपत्र बुझाउनुपर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुट प्रदान गरिने आयोगले जनाएको छ ।
उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ अनुसार अनुसूची–६ बमोजिमको स्वघोषणा–पत्रसमेत बुझाउनुपर्नेछ । स्वघोषणामा चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋण तथा ऋणसम्बन्धी सम्पूर्ण विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ । साथै, वैयक्तिक विवरण फाराम, निर्वाचित, मनोनीत वा नियुक्त निकायबाट लिएको पेस्की फस्र्योट भएको निस्सा, लेखापरीक्षणबाट कायम बेरुजु फस्र्योट गरेको प्रमाण तथा निर्वाचन आचारसंहिताअनुसारको प्रतिबद्धता–पत्र पनि बुझाउनुपर्नेछ ।
तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा तडकभडक नगर्न आग्रह गरेका छन् । तडकभडकलाई कानुनले पूर्ण रूपमा निषेध गरेको उल्लेख गर्दै उनले आचारसंहिता उल्लंघन गर्ने गतिविधि नगर्न चेतावनी दिएका हुन् । सोमबार पत्रकारसँग कुरा गर्दै भण्डारीले आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोग कठोर रूपमा प्रस्तुत हुने बताए । ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक देखिन्छन् । यो कानुन र आचारसंहिताले पूर्ण रूपमा निषेध गरेको छ । उल्लंघन भए आयोगले कठोर निर्णय लिन्छ,’ उनले भने । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी गर्दै उनले कुनै शंका–उपशंकाको आवश्यकता नरहेको पनि बताए । ‘निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुँदै छ । कुनै शंका, उपशंका गर्नुपर्दैन,’ भण्डारीले भने ।
दलहरूले उम्मेदवार लगभग टुंग्याए : टिकट बोकेर अधिकांश नेताहरू लागे आ–आफ्नो क्षेत्रतिर
दलहरू आगामी २१ फागुनमा हुने निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अन्तिम तयारीमा रहेका छन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा १३७ दल दर्ता छन् ।
एमाले, नेकपा र रास्वपाले अधिकांश स्थानमा उम्मेदवार टुंग्याएका छन् । केही ठाउँमा मात्रै मिलाउन बाँकी रहेको ती दलका नेताहरूले बताएका छन् । एमालेले केही स्थानमा उम्मेदवार नै परिवर्तन गरेको छ । कांग्रेसले पनि धेरैजसो उम्मेदवार टुंग्याएको छ । सोमबार राति अबेरसम्म कांग्रेस नेताहरू उम्मेदवार चयनमा छन् ।
नेकपाले पनि उम्मेदवार टुंगो लगाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट मनोनयन दर्ता गर्दै छन् भने सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट मनोनयन दर्ता गर्दै छन् । नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट चुनाव लड्दै छन् । तेस्रो र चौथो वरीयताका वरिष्ठ नेताहरू झलनाथ खनाल र वामदेव गौतम भने उम्मेदवार बनेका छैनन् । उनीहरूले नयाँ अनुहारलाई अवसर दिन उम्मेदवार नबनेको बताएका छन् । यस्तै, नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल, राजेन्द्र श्रेष्ठ, देव गुरुङ, प्रेमबहादुर सिंहलगायत पनि उम्मेदवार बनेका छैनन् । बागलुङमा नेकपा र जनमोर्चाले चुनावी तालमेलको सहमति गरेका छन् ।
रास्वपाले पनि अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको छ । कतिपय स्थानमा भने मिलाउन बाँकी रहेको नेताहरूले बताएका छन् । सभापति रवि लामिछानेले चितवन २ बाट मनोनयन दर्ता गर्दै छन् भने वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट मनोनयन दर्ता गर्दै छन् । उपसभापति स्वर्णिम वाग्ले तनहुँ १, अर्का उपसभापति डिपी अर्याल काठमाडौं ९ बाट उठ्दै छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ बाट मनोनयन दर्ताको तयारी गरेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी १ बाट मनोनयन दर्ताको तयारी गरेका छन् ।
यस्तो छ निर्वाचन कार्यतालिका
मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिनको ३ बजेदेखि बिहीबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।
शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
शुक्रबार नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । उम्मेदवारले चुनाव चिह्न पाएपछि पनि आचारसंहिताअनुसार प्रचारप्रसार प्रारम्भ गर्नका लागि करिब तीन साता पर्खनुपर्नेछ । ३ देखि १८ फागुनसम्म १५ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।
उम्मेदवारले सभा, जुलुस, सञ्चारमाध्यमबाट प्रचारप्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउनेछन् । २१ फागुनको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।