काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी प्रचार अभियानमा होमिएको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन सोमबार जनकपुरधामको तिरहुतियागाछीमा ‘परिवर्तन उद्घोष’ सभामार्फत अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतका नेताहरूले भोट माग्न सुरु गरेका छन् । संघीयतालाई थप बलियो र अधिकारसम्पन्न बनाउने रास्वपाको योजना रहेको उनीहरूको भनाइ छ ।
मेयरबाट राजीनामा दिएपछि बालेन पहिलोपटक पार्टीको सभामा उपस्थित भएका हुन् । उनलाई हेर्न र सुन्न सभामा सर्वसाधारण ओइरिएका थिए । जनकपुर आउनुअघि आइतबार बालेन काठमाडौंस्थित रास्वपा कार्यालय घन्टीघर पुगेर पदभार ग्रहण गरेका थिए । सभामा सभापति लामिछानेले देशको हित र जनताको चाहनाअनुसार बालेन र आफू एक ठाउँमा उभिएको बताए ।
आगामी निर्वाचनपछि रास्वपा नेतृत्वको सरकार बन्ने निश्चित भएकोले पार्टीले मधेशको सन्तानलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको बताए । ‘मधेशसँगै देशको मुहार फेर्ने हो, त्यसका लागि बालेन शाह आएको छ,’ मधेशको छोरा पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर रहेकाले पार्टीलाई जिताउन आग्रह गर्दै उनले भने, ‘अब देशले बालेन पाएको छ, बालेनले देश बनाउँछ । हाम्रो सपना पूरा गर्छ ।’
काठमाडौं महानगरपालिकामा बालेनले नमुना काम गरिरहेका वेला केन्द्र सरकारले उल्टै एउटा प्रशासकीय अधिकृत पनि नदिएर असहयोग गरेको लामिछानेले बताए । ‘अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो,’ उनले भने ।
आफूमाथि प्रतिशोध साध्दै अघिल्लो सरकारले जिल्ला–जिल्लामा झुटा मुद्दा लगाएको स्मरण गर्दै लामिछानेले अब बन्ने रास्वपाको सरकारले भने कसैमाथि प्रतिशोध नसाधिने बताए । ‘हाम्रो सरकार उनीहरूको ढोका चहार्दैै जानेछैन । हामी उनीहरूजस्तो प्रतिशोधमा उत्रिने पनि छैनौँ, तर यत्तिका वर्ष सत्तामा बसेर राज्यको ढुकुटी लुटेकाहरूको एक–एक हिसाब भने गरिनेछ । देश लुटेर कमाएको एक–एक हिसाबचाहिँ गर्नेछौँ । बालबालिकालाई टुहुरो बनाएको, मधेशलाई गरिब बनाएको एक–एक हिसाब हुनेछ । किनकि अबकी बार बालेन सरकार,’ लामिछानेले भने, ‘युवा र नागरिकको टाउकोमा गोली ठोकेर भागेका तत्कालीन प्रधानमन्त्रीले लगाएको मुद्दाले म जेलमा जान्छु भन्ने चिन्ता अब मलाई छैन । देर आई दुरुस्त आई । अब देश नै बदल्ने गरी अगाडि बढ्छौँ ।’
अघिल्लो चुनावमा रास्वपाले रोपेको बिउले यस चुनावमा फल दिने विश्वास लामिछानेले व्यक्त गरे । चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि छलछाम गरेर संसद्बाट हटाइएको उल्लेख गर्दै उनले भने, ‘अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछौँ ।’ आफूमाथि लागेका मुद्दाका कारण देशका विभिन्न अदालत धाइरहनुपरे पनि त्यसको कुनै पर्वाह नरहेको उनले बताए ।
बालेनसँग भएको छलफलमा आफूहरू सँगै अघि बढ्न वार्ता पाँच मिनेटमै सहमत भएको पनि लामिछानेले सुनाए । ‘देशको हितलाई केन्द्रमा राख्दा वार्ताको नाटक गर्नुपर्दैन,’ उनले भने, ‘देशको हित र जनताको चाहनाका लागि एक ठाउँमा उभिएका हौँ ।’
मैथिलीमा भाषण गरेका बालेनले आफू भाषण नभई काम गर्न आएको बताए । ‘काम गर्न दिनुहुन्छ नि ? म काम गर्ने मान्छे हुँ । मेयर हुँदा काममा व्यस्त थिएँ, राजीनामा दिएर आज पहिलोपटक बोल्दै छु,’ उनले भने, ‘मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे देशको प्रधानमन्त्री बन्छ भनेर घन्टीमा भोट दिनुहोला ।’ उनको भाषणका क्रममा ‘पज’ लिँदा तालीको गड्गडाहट र ‘अबकी बार बालेन सरकार’को हुटिङ भइरहन्थ्यो ।
बालेनले संघीयताप्रति रास्वपा र आफ्नो धारणा पनि सुनाए । ‘अहिले एउटा मेयरले प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्दा काठमाडौं धाउनुपर्छ, उखु किसान, मिटरब्याजी पीडितसहितका सबै काठमाडौं गएर आन्दोलन गर्नुपर्छ, जनकपुर मधेश प्रदेशको राजधानी हो । यहाँबाट किन फेर्न सक्दैनन् प्रशासकीय अधिकृत ? त्यसकारण अब बलियो संघीयता बनाउनुपर्छ, जसले अधिकारका लागि काठमाडांै जानु नपरोस्, काठमाडौं घुम्नका लागि, पशुपतिनाथ र स्वयम्भुनाथको दर्शन गर्न जाओस्,’ उनले भने ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा देशका विभिन्न ३५ वटा पालिकालाई एम्बुलेन्स उपलब्ध गराएको, बर्सेनि २० हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको र १० प्रतिशत बिरामीलाई काठमाडौंका महँगा अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरिदिएको उनले स्मरण गराए ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पहिलो निर्वाचनमा भन्दा आगामी निर्वाचनमा मधेश प्रदेशको ६० प्रतिशतभन्दा बढी मत आफूहरूले पाउने दाबी गरे । ‘पहिलो निर्वाचनमा हामीसँग बढी समय थिएन, जनताको बिचमा खासै जान सकेनौँ । तर, यसपालि हस्ती भएका नेताहरू बोकेर मधेश आएका छौँ,’ उनले भने । आफ्नो पार्टी संघीयताको विरोधी नरहेको स्पष्ट पार्दै उनले संघीयताको नाममा रहेको बदमासीलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
डा. अमरेश सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश
परिवर्तनको उद्घोष सभामा पूर्वसांसद डा. अमरेश सिंह र मधेश प्रदेश सांसद रहबर अन्सारी रास्वपामा प्रवेश गरेका छन् । उनीहरूलाई सभापति लामिछाने र वरिष्ठ नेता बालेनले गम्छा ओढाएर स्वागत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै डा. सिंहले बालेन प्रधानमन्त्री नबने आफूहरूले मधेशको धर्तीमा आत्मदाह गर्ने बताए । बालेनलाई देशको महानायक बताउँदै उनले भने, ‘देश र मधेशमा धेरै खलनायकहरू छन् । ती खलनायकलाई ठेगान लगाउन बालेनलाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन ।’ ‘हामी सीता माताका सन्तान हौँ, माता सीता यही धर्तीमा समाहित भएकी थिइन्,’ भावुक हुँदै उनले भने, ‘बालेन प्रधानमन्त्री भएन भने म पनि जनकपुरधामको धर्तीमा समाहित हुनेछु ।’ अन्सारीले मधेशमा व्यापक भष्टाचार मौलाएको र ती भष्टाचारलाई हटाउन रास्वपाको भ्याक्सिन आवश्यक रहेको बताए ।
जानकी मन्दिरमा दर्शन र मधेशका सहिदको सालिकमा माल्यार्पण
आइतबार नै जनकपुरधाम आइपुगेका बालेन शाहले सोमबार बिहानै जानकी मन्दिरको दर्शन गरेका थिए । प्राय: बिहान ८ बजे खोलिने जानकी मन्दिर बालेन आउने भएपछि ५ बजे नै खोलिएको थियो । जानकी मन्दिरका महन्थ तपेश्वर दास र छोटा महन्थ रामरोशन दासले बालेनलाई स्वागत गरेका थिए ।
त्यसपछि मधेश बलिदानी दिवसको अवसर सोमबार नै रहेकाले बालेनले मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सिराहाको लहानस्थित सालिकमा गएर माल्यार्पण गरेका थिए । त्यसपछि बालेन धनुषाको मिथिला नगरपालिका— ८, जमुनिवास आफ्नो मामाको घरसमेत पुगेका थिए ।
त्यसपछि करिब २ बजे तिरुहुतियागाछीमा आयोजित सभामा सभापति लामिछानेसँग सहभागी भएका थिए । सभामा उर्लिएको भिडले उनीहरूलाई मञ्चसम्म पुग्न हम्मेहम्मे भएको थियो ।
रवि, बालेनसहित रास्वपाका नेताहरू जनकपुरधामको मिथिला यात्री निवासमा बसेका छन् । सभापति रविले मधेश प्रदेशका केही उम्मेदवारलाई आज टिकट वितरण गरेका छन् ।