अरण्यज्योति क्रिकेट क्लबले पोखरामा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न समूह ‘ए’ तर्फको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको हो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्ता पाएको अरण्यज्योतिले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। २१५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदानमा उत्रेको लेकसाइड ४४.५ ओभरमा सबै विकेट गुमाएर १९८ रनमा सीमित भएको थियो।
प्रतियोगिताको चौथो दिनको खेलमा अरण्यज्योतिको जितमा प्लेयरअफ द म्याच बनेका सन्जीव कार्कीले सर्वाधिक रन जोड्ने क्रममा ९५ बलमा ८९ रन बनाएका थिए। घनश्यामकुमार यादवले ४२ बलमा ४५ र सन्देश न्युरेले ६४ बलमा २५ रन बनाएका थिए । लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२, हरिशंकर तिवारीले ४८ बलमा ३७ रन बनाएका थिए।
खेलमा लेकसाइडका हरिशंकर तिवारीले १० ओभर खेल्दै २ मेडनसहित १९ रन खर्चेर तीन विकेट हात पार्दा केशव सुनार र सन्देश शाहले समान २-२ विकेट हात पारेका थिए। अरण्यज्योतिका लागि अब्दुल खलिक, अभिषेक भुजेल र प्रवीण पौडेलले समान २-२ विकेट हात पारेका थिए।
सिंगल राउन्ड रोबिन लिगको आधारमा भएको प्रतियोगितामा समूह ‘ए’को एक चरणका खेल सोमबार सम्पन्न भएसँगै मंगलबारदेखि समूह ‘बी’का एक चरणका खेल सुरु हुनेछन्। दुवै समूहको एक चरणको खेल सम्पन्नपछि लिगका अन्य खेल पोखरासँगै लेखनाथस्थित मैदानमा सञ्चालन हुनेछन्।
१६ माघसम्म सञ्चालन हुने प्रतियोगितामा कास्कीका विभिन्न १० क्लबले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताका विजेता क्लबले प्रदेशस्तरीय एकदिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ।