कांग्रेसबाट कञ्चनपुर–१ मा पूर्वविद्यार्थी नेता उपाध्यायले पाए टिकट

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेसले कञ्चनपुर निर्वाचन–१ मा गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । कांग्रेस क्षेत्र नम्बर १ का सभापतिसमेत रहेका उपाध्यायलाई कांग्रेस केन्द्रले साेमबार उम्मेदवारका लागि टिकट दिएकाे हाे । 

कांग्रेस क्षेत्रीय सभापति उपाध्यायले आफूले टिकट पाएको र अब निर्वाचनमा होमिने बताएका छन् । ‘टिकट हातमा परिसकेको छ,’ उनले भने, ‘अब क्षेत्रमा गएर उम्मेदवारी दर्ता गर्दै चुनावमा होमिन्छु ।’

नेविसंघबाट राजनीतिक यात्रामा होमिएका उपाध्याय पूर्वविद्यार्थी नेता हुन् । उनले नेपाल विद्यार्थी संघ कञ्चनपुरको पूर्वसभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यस्तै, कांग्रेस क्षेत्र नम्बर १ को दुईपटक नेतृत्व सम्हालिसकेका छन् । क्षेत्र नम्बर १ बाट उपाध्यायसहित अर्का कांग्रेस नेता भरत विष्ट उम्मेदवारका लागि सिफारिस भएका थिए ।  

उपाध्याय आफ्नै पार्टीका पूर्वसहकर्मी एवं रास्वपाका उम्मेदवार जनकसिंह धामी, प्रदेशका पूर्वमन्त्री एवं निर्वतमान सांसद एमाले उम्मेदवार तारा लामा तामाङ र पूर्वमन्त्री एवं नेकपाका उम्मेदवार बिना मगरसँग प्रतिस्पर्धामा उत्रिनेछन् । 
 

सुझावित समाचार