महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल आठ विकेटले पराजित

घरेलु टोली नेपालले दिएको १२२ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल आठ विकेटले पराजित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा घरेलु टोली नेपाल आठ विकेटले पराजित भएको छ । समूह ‘बी’अन्तर्गत थाइल्यान्डविरुद्ध आइतबार भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा विश्वकप खेलिसकेको थाइल्यान्डले १६.५ ओभरमा दुई विकेटको नोक्सानीमा १२५ रन बनाएको थियो । थाइल्यान्डको जितमा नत्थकन चान्थमले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेलेकी थिइन् । उनले ३९ बलमा नौ चौका र एक छक्का प्रहार गरिन् । 

त्रिवि क्रिकेट मैदानमा १२३ रनको लक्ष्य 
पछ्याएको थाइल्यान्डका लागि अफिसरा र चान्थमले पहिलो विकेटका लागि ९.१ ओभरमा ६६ रनको साझेदारी गरेका थिए । अफिसराले ३२ बलमा दुई चौकाको सहयोगमा २८ रन जोडिन् । चान्थमले नन्नापट कोन्चारोएनकाईसँग दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गर्दै टोलीलाई १५.३ ओभरमा ११३/२ को बलियो स्थितिमा राखिन् । नन्नापटले २५ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाइन् । नेपालले अर्को खेल बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

समूह ‘बी’कै अर्को खेलमा नेदरल्यान्ड्सले जिम्बावेलाई २२ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमै नेदरल्यान्ड्स १२२ रनमा अलआउट भएको थियो । जिम्बावेले २० ओभरमा आठ विकेटको क्षतिमा सय रन जोडेको थियो । समूह ‘ए’मा आयरल्यान्डले पपुवा न्युगिनीमाथि ४१ रनको जित निकालेको छ । मूलपानी मैदानमा आयरल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन जोडेको थियो । पपुवा न्युगिनीले २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन बनायो । यसै समूहमा बंगलादेशले अमेरिकालाई २१ रनले निराश बनाएको छ । 

नेपालको मध्यक्रम ब्याटिङ असफल
थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालका लागि विन्दु रावल र सम्झना खड्काले ओपनिङ गरेका थिए । विन्दु र सम्झनाले ५.४ ओभरमा ५२ रन जोडेका थिए । पाथवाङको ओभरमा सम्झना क्याच आउट भइन् । सम्झनाले ११ बलमा ६ चौकाको सहयोगमा २६ रनको योगदान दिइन् । आक्रामक रूपमा ब्याटिङ प्रस्तुत गरेको नेपाल पहिलो विकेटपछि बिस्तारै कमजोर बन्दै गयो । 

सुरुको पाँच ओभरमा १० को रनरेटमा ब्याटिङ गरेको नेपालको १३.३ ओभरसम्म ६.५४ मा झरेको थियो । क्रिजमा सेट भइसकेकी ओपनर विन्दुलाई नेपालले दोस्रो विकेटका रूपमा गुमायो । उनले ५६ बलको सामना गरी ४४ रनको सर्वाधिक योगदान दिइन् । सम्झना र विन्दु आउट भएपछि नेपालको मध्यक्रम ब्याटिङ र पुछार चल्नै सकेन । मध्यक्रमकी उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् । कप्तान इन्दु बर्माले ६, कविता जोशीले ३ तथा कविता कुँवरले २ रन बनाए । कविता कुँवर आउट हुँदा नेपाल १६.२ ओभरमा ९८–५ को स्थितिमा रह्यो । 

पूर्वकप्तान रुबिना क्षेत्रीले रनरेट उकास्ने काम गरेकी थिइन् । उनले १० बलमा दुई छक्का र एक चौका प्रहार गरी १७ रनको योगदान दिइन् । रुबिना, कविता जोशी तथा सीता रानामगर पनि सस्तैमा पेभेलियन फर्केका थिए । नेपाल १० ओभरको समाप्तिमा ७०–१ को बलियो अवस्थामा थियो । नेपालले बाँकी १० ओभरमा ५२ रन मात्र बनाएको थियो । 

३०–४० रन कम भयो
 इन्दु बर्मा, कप्तान, नेपाल

मिडिल अर्डर ब्याटिङ फितलो भयो । सुरुवात राम्रो भएको थियो । मिडिल अर्डर ब्याट्सम्यानले सोचेजस्तो योगदान दिन सकेनन् । सबै खेलाडीले आ–आफ्नो जिम्मेवारीअनुसार खेलेको भए विपक्षीलाई १५० रनसम्मको लक्ष्य दिन सकिन्थ्यो । तर, ३०–४० रन कम बनायौँ । विकेट फ्ल्याट नै थियो । फिल्डिङमा सुधार गरेका छौँ । आउने खेलमा अझै सुधार गर्नुपर्छ । 

बलरले उत्कृष्ट पुनरागमन गरे
 नारुमोल चाइवाई, कप्तान, थाइल्यान्ड

नेपालका ओपनरले उत्कृष्ट सुरुवात गरेका थिए । तर, हाम्रा बलरहरूले घरेलु टोलीविरुद्ध उत्कृष्ट पुनरागमन गरे । विशेष रूपमा यहाँ जित निकाल्नु सबैभन्दा उत्कृष्ट पक्ष रह्यो । यसपटक नेपाली महिला टोली पहिलेभन्दा केही राम्रो भएको पाएँ । हामी प्रत्येक खेलमा योभन्दा राम्रो गर्दै जान्छौँ । 

सुझावित समाचार