खोटाङमा रास्वपाको टिकट रुद्र गिरीलाई

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोटाङमा रुद्र गिरीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । कांग्रेस खोटाङको महाधिवेशन प्रतिनिधि परित्याग गरेर रास्वपा प्रवेश गरेका गिरीलाई पार्टीले २१ फागुनको निर्वाचनमा टिकट दिएको हो । 

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको टिकटका लागि जिल्लाबाट तीनजना नेताको नाम सिफारिस भएकोमा केन्द्रीय समितिले गिरीलाई टिकट दिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिएका छन् । रास्वपा खोटाङले प्रतिनिधिसभा सदस्यका लागि गिरीसहित जीवन कान्छा किराँती र रविन्द्र ओझाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गिरी गत १५ पुसमा पार्टी केन्द्रीय कार्यालय गएर रास्वपा प्रवेश गरेका थिए । आफ्नो पूरानो पार्टी कांग्रेसले देश र जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूसँगै कार्यकर्ता लिएर रास्वपा प्रवेश गरेको गिरीले बताएका थिए । 

उद्योग वाणिज्य संघ खोटाङका पूर्वअध्यक्षसमेत रहेका गिरी केही वर्षअघि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि टिकट दाबी गरेका गिरी टिकट नदिएपछि निस्क्रि थिए ।  
 

सुझावित समाचार