कांग्रेस नेता विश्वकर्मा भन्छन्– विवाद अदालतमा विचाराधीन छ अब सबैको सहमतिमा उम्मेदवार छानौँ

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उत्साहका साथ आगामी निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका छन् । यसका लागि शेरबहादुर देउवा, गगन थापा, पूर्णबाहादुर खड्का, शेखर कोइराला एक ठाउँमा बस्न उनले आग्रह गरेका छन् । समाजिक सञ्जालमार्फत आइतबार वक्तव्य सार्वजनिक गर्दै उनले भनेका छन्– घेराबन्दीवाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् । 

वक्तव्यमा उनले सबै दल निर्वाचनमा होमिएका वेला मुलुकको पहिलो र ठूलो लोकतान्त्रिक दल कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूँदै गरिरहेको बताएकाम छन् । यो कांग्रेसका लागि मात्रै नभइ मुलुक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य भएको उनको भनाइ छ । 

पूर्वसभापति शेरबहादुर देउवा निकट विश्वकर्माले विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिकासँग आफ्नो विमति रहेको प्रष्ट पारेका छन् । उनले भनेका छन्– यसका बारेमा आयोग र अदालतमा विमतिहरू दर्ज भएर विचाराधीन छन् । तर प्रक्रियमा काफि विमतिका बाबजुत पनि २१ फागुनको निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्राबिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ । यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ । केवल सबैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ ।

तसर्थ, विवाद अब आयोग मात्रै होइन अदालत पुगिसक्यो । अब झगडा अदालतमा छौडौ । परिणाम जे आउँछ मान्न तयार बनौँ । हिजो २४ भदौमा घर छोड्न तयार भयौँँ ज्यानका लागि आज घमण्ड त्याग्न तयार बनौँ पार्टीका लागि । झगडिया अरू कोही होइन हामी एकाघरका हौँँ ।

उनले २१ फागुनको निर्वाचनले पार्टीभित्रको झगडाको मिलन पनि गराउन सक्ने बताएका छन् । उनले भनेका छन्– हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नु भयो । बाँकीमा अब गगनले गर्नु हुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौँ । उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ । यसका लागि देउवा, गगन, पूर्णबाहादुर, शेखर एक ठाउँमा अहिलै बस्नुस् । घेराबन्दीवाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।

सुझावित समाचार