टेन्डर छपाइमा अनियमितता गरेको अभियोग लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत सबैले सफाइ पाएका छन्। ६ महिनाअघि दायर यस मुद्दामा आइतबार विशेष अदालतले सफाइ हुने फैसला गरेको हो।
तिलाठी कोइलाडीमा ०७९/८० को स्वीकृत बजेटअनुसार गाउँपालिकाभित्र विभिन्न निर्माण कार्यका लागि ४ वटा ठेक्का आह्वान गरिएको थियो। सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा सूचना निकाल्नुपर्नेमा सो सूचना लुकाई सार्वजनिक रूपमा नभई अभिलेखमा राख्न मात्र एक-एकप्रति प्रकाशित गरिएको भेटिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा ती सूचना प्रेस काउन्सिलको अभिलेखमा नदेखिएको तथा पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफमा पनि नभेटिएको उल्लेख छ। जबकि उक्त सूचनाका आधारमा बिल भरपाई भएको थियो।
यस कार्यमा ३ लाख १६ हजार रुपैयाँको अनियमितता भएको भन्दै मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका हुन्। विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइरालाको इजलासबाट यस्तो फैसला आएको हो।
यस मुद्दामा टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भूषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीको संलग्नता रहेको दाबी अख्तियारको थियो।
साथै, तिलाठीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सह–लेखापाल सत्रोहन दासविरुद्ध मुद्दा दर्ता भएकोमा सम्बद्ध कम्पनीहरूलाई पनि प्रतिवादी बनाइएको थियो। अख्तियारले गत २० जेठमा यो मुद्दा विशेषमा दर्ता गरेकोमा सबैलाई सफाइ दिइएको हो।