अदालतको आदेशविपरीत एन्फाले सक्यो मनोनयन दर्ता

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण
  • उच्च अदालत पाटनले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको छ, तर एन्फाले प्रक्रिया बढायो 

उच्च अदालत पाटनको आदेश र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई अटेरी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ । एन्फाले २८ माघ निर्वाचनको तालिकाअनुसार नै शनिबार मनोनयनपत्र दर्ता सक्काएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङले जिल्ला र प्रदेशको चुनावविना ‘अर्ली इलेक्सन’ गर्ने निर्णय गरेपछि एन्फाकै पदाधिकारीले राखेपमा उजुरी गरेका थिए । यसपछि राखेपले ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको थियो । नेम्वाङको चारवर्षे कार्यकाल ५ असारमा पूरा हुँदै छ । 

यता, गोरखा जिल्ला फुटबल संघका पदाधिकारी अमित खत्रीले चुनावमा सहभागी हुन पाउने आफ्नो अधिकार हनन भएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । यसपछि उच्च अदालतले तत्कालन निर्वाचनको प्रक्रिया नबढाउन आदेश दिँदै दुवै पक्षलाई ६ माघलाई छलफलमा बोलाएको छ । 

एन्फा संस्थापन पक्षले निर्वाचन गर्न फिफा र एएफसीको स्वीकृति भएको ठहर गर्दै प्रक्रिया अगाडि बढाएको थियो । अध्यक्ष नेम्वाङले दोस्रो कार्यकाल दोहोरिने योजनासहित वर्तमान कार्यसमितिमा आफ्नो पक्षमा देखिएका पदाधिकारीलाई नै उम्मेदवारी दिन लगाएका छन् । नेम्वाङ नेपाल ओलम्पिक कमिटीझैँ जसरी पनि चुनाव गराएरै छाड्ने देखिएपछि संस्थापन इतरपक्षका उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले पनि शनिबार अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

अध्यक्षमा उम्मेदवारी दिएको दीर्घकुमार केसी भन्छन्, ‘संस्थापन पक्षले जसरी हुन्छ चुनाव गर्ने निर्णय गरेपछि अदालत र राखेपको निर्देशनबिच पनि बाध्य भएर उम्मेदवारी दिएको छु ।’

यता, यसअघि नै अध्यक्षको घोषणा गरेर पनि वर्तमान उपाध्यक्ष विराटजंग शाहीले मनोनयन दर्ता गरेनन् । उनले अदालत र सरकारले निर्देशनको अपहेलना नगर्ने बताएका छन् । ‘यसअघि नै अध्यक्षमा उम्मेदवारी दिएको हो । तर, अदालत र सरकारको निर्देशन मानेर उम्मेदवारी नदिएको छ ।’ एन्फा प्रवक्ता सुरेश शाहले नियमित प्रक्रियाअनुसार नै निर्वाचन हुने जानकारी गराए । 

दुई समूह भिड्ने पक्का 
झापामा तय भएको निर्वाचनमा दुई समूह प्रतिस्पर्धा गर्ने भएका छन् । राखेप र उच्च अदालतले निर्वाचनको सबै प्रक्रिया रोक्न निर्देशन दिए पनि अध्यक्षमा नेम्वाङ र केसी भिड्ने पक्का भएको छ । 

यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्वाङको पक्षबाट दीपक खतिवडा र दावा लामा तथा केसीको पक्षबाट सुन्दरनरसिंह जोशी उभिएका छन् । उपाध्यक्षमा नेम्वाङको पक्षबाट अनिल मल्ल, मनीष जोशी, विजय घले, विकास श्रेष्ठलगायत छन् । यता केसी पक्षबाट उपाध्यक्षमा उत्तमराज भण्डारी, अनिल श्रेष्ठ र पेमा डोल्मा लामाले उम्मेदवारी दिँदै छन् । निर्वाचन समितिले उम्मेदवारको नामावली ७ माघमा प्रकाशन गर्ने बताएको छ । 

See More On

सुझावित समाचार