निर्वाचनका समयमा सामाजिक सञ्जालको दुरुपयोग मुख्य चुनौती बन्न सक्ने जोखिमको मूल्यांकनपछि सबै जिल्लामा ‘साइबर प्रहरी’ परिचालन गरिने भएको छ । साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोगको निगरानी र शीघ्र अनुसन्धानका लागि नेपाल प्रहरीले तालिमप्राप्त प्रहरीलाई ‘साइबर प्रहरी’का रूपमा खटाउन लागेको हो ।
गृह मन्त्रालयले सातै प्रदेशमा गरेको सुरक्षा सम्मेलनमा सामाजिक सञ्जालमार्फत निर्वाचनका क्रममा एक–अर्काविरुद्ध अफवाह फैलाउने, चरित्रहत्या गर्ने तथा त्यसबाट तनाव सिर्जना हुन सक्ने निष्कर्ष निकालिएको थियो । त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्न साइबर प्रहरी परिचालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार साइबर अपराधसम्बन्धी तालिमप्राप्त प्रहरीलाई जिल्ला तहसम्म ‘साइबर प्रहरी’का रूपमा खटाइनेछ । केन्द्रमा भने साइबर ब्युरोले निर्वाचनलक्षित नियमन र अनुसन्धान गर्नेछ । सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्रीले निष्पक्ष निर्वाचनको वातावरण बिथोल्न सक्ने भएकाले यो विषयलाई उच्च प्राथमिकतामा राखिएको गृहप्रवक्ता काफ्ले बताउँछन् । ‘केन्द्रीय कमान्ड पोस्ट, निर्वाचन आयोग र केन्द्रीय निर्वाचन सेलसँग समन्वयका लागि उपत्यका प्रहरी कार्यालयमा साइबर ब्युरोबाट निर्वाचनलक्षित साइबर प्रहरी कर्मचारी खटाइनेछन् । प्रत्येक प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि साइबर प्रहरी रहनेछन्,’ उनी भन्छन्, ‘साइबर प्रहरीले निर्वाचनसँग सम्बन्धित साइबर गतिविधिको निगरानी, विश्लेषण तथा आवश्यक कारबाहीका लागि निर्देशन र सिफारिस गर्नेछ ।’
सामाजिक सञ्जालमा भ्रामक सामग्रीको प्रचारप्रसार रोक्ने, मतदाताको गोपनीयता जोगाउने र डिजिटल सुरक्षासम्बन्धी जिम्मेवारी पनि साइबर प्रहरीलाई तोकिएको छ । यस विषयमा शनिबार गृह मन्त्रालय र निर्वाचन आयोगबिच छलफल भएको थियो । छलफलमा शान्ति सुरक्षामा ठुलो चुनौती नरहेको निष्कर्ष निकालिए पनि उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलिन सक्ने भएकाले त्यसलाई तत्काल अनुसन्धान गरी हटाउनु मुख्य चुनौती हुने औँल्याइएको छ ।
सामाजिक सञ्जालमा भ्रामक सामग्री नियन्त्रण गर्न निर्वाचन आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित सफ्टवेयर प्रयोग गर्न लागेको छ । साथै, आयोगले प्रहरीको साइबर ब्युरोलगायत विभिन्न निकायका विज्ञहरू समेटेर सामाजिक सञ्जाल नियमनका लागि समिति गठन गरी काम सुरु गरिसकेको छ ।
निर्वाचनमा तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन हुने
२१ फागुनमा तय भएको निर्वाचनका लागि तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचन प्रहरीसहित चुनावमा खटिने सुरक्षाकर्मीको संख्या टुंगो लागेको हो । निर्वाचनमा नेपाली सेना पनि खटिनेछ । ७९ हजार ७२७ नेपाली सेना खटिने तय भएको छ । त्यस्तै, ३४ हजार ५७६ सशस्त्र प्रहरी, ७५ हजार ७९७ नेपाल प्रहरी र एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागबाट परिचालन हुनेछन् । त्यस्तै, एक लाख ४९ हजार ९० निर्वाचन प्रहरीको भर्ना प्रक्रिया अघि बढिसकेको छ । शनिबारसम्म दरखास्तको म्याद रहेकोमा आइतबारदेखि छनोटको प्रक्रिया सुरु गर्न लागिएको छ । ‘निर्वाचनमा सुरक्षाका हिसाबले शून्य कमजोरी होस् भन्ने हिसाबले हाम्रो तयारी चुस्त छ,’ गृहप्रवक्ता आनन्द काफ्ले भन्छन्, ‘विगतमा सम्पन्न निर्वाचनको अनुभव र सिकाइसमेतका आधारमा मजबुत सुरक्षा व्यवस्था कायम गर्ने गरी काम भइरहेको छ ।’