उद्योग वाणिज्य संघ सिराहाको मतदान सकियो, मतगणना राति ८ बजेदेखि

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

उद्योग वाणिज्य संघ सिराहाको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ। लहानस्थित मारबाडी सेवा सदनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो।

पाँच बजेसम्ममा तीन हजार ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए। उक्त संख्या कुल मतदाताको करिब ७६ प्रतिशत हो। संघमा वस्तुगत, एसोसिएट, आजीवन, साधारण तथा वाणिज्यतर्फ गरी ४५५ मतदाता रहेको उनले बताए। ‘मतदानपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शनिबार राति ८ बजेदेखि गणना थाल्ने योजना छ,’ उनले भने, ‘कुनै व्यवधान नआए आइतबार अपराह्नसम्म अन्तिम नतिजा घोषणा गर्छौँ।’   

संघको ३५औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत गत २ पुसमा उद्घाटन भई ५ पुसका लागि तय गरिएको मतदान कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको थियो। वर्तमान कार्यसमितिका महासचिवसमेत रहेका अध्यक्ष पदका प्रत्याशी श्याम गुप्तासहित दुईजनाले उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषण आदेशको मागसहित रिट हालेपछि स्थगित मतदान कार्यक्रम अदालतबाट ८ पुसमा रिट फिर्ता लिएको २५ दिनपछि गरिएको हो।
 
१५ पदका लागि निर्वाचन
सिराहाको लहान, धनगढीमाई नगरपालिका तथा लक्ष्मीपुरपतारी, सखुवानन्कारकट्टी र नवराजपुर गाउँपालिका क्षेत्रका उद्योगी व्यवसायीहरू आबद्ध रहेको संघमा चार हजार ५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत २९ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनकै वेला वस्तुगततर्फ एक उपाध्यक्षसहित दुईजना निर्विरोध निर्वाचित भइसकेका छन्। 

संघको १७ सदस्यीय कार्यसमितिमा दुईजना निर्विरोध निर्वाचित भइसकेकाले शनिबारको मतदानले एसोसिएटतर्फ एक–एक उपाध्यक्ष र सदस्य, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, दुई महिला सदस्य र पाँच खुला सदस्य गरी १५ जना निर्वाचित गर्दै छ। निर्वाचनमा प्रदीप गुप्ता र श्याम गुप्ता प्यानलसहित प्रतिस्पर्धामा छन्। 

संघका पूर्वअध्यक्षहरू पवन मुन्धडा, अशोक अग्रवाल, सुनीलकुमार महतो, अशोकलाल अमात्य तथा वर्तमान अध्यक्ष विकासकुमार शारडा तथा धनगढी व्यापार समितिका अध्यक्ष सरोजकुमार महतोको समेत प्रदीप प्यानललाई समर्थन थियो। 
 

सुझावित समाचार