सिराहाको लहानस्थित जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान सुरु भएको मतदान जारी छ। स्थानीय मारबाडी सेवा सदनमा बिहान ८ बजेदेखि सुरु भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म दुई हजारजनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए। उनका अनुसार पूर्वनिर्धारित साँझ ५ बजेसम्म तीन हजारको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ।
संघको ३५औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत गत २ पुसमा उद्घाटन भई ५ पुसका लागि तय गरिएको मतदान कार्यक्रम स्थगित भएको थियो। वर्तमान कार्यसमितिका महासचिवसमेत रहेका अध्यक्ष पदका प्रत्याशी श्याम गुप्तासहित दुईजनाले उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषण आदेशको मागसहित रिट हालेपछि स्थगित भएको मतदान कार्यक्रम अदालतबाट ८ पुसमा रिट फिर्ता लिएको २५ दिनपछि गरिएको हो।
१५ पदका लागि निर्वाचन
सिराहाको लहान, धनगढीमाई नगरपालिका तथा लक्ष्मीपुरपतारी, सखुवानन्कारकट्टी र नवराजपुर गाउँपालिका क्षेत्रका उद्योगी व्यवसायीहरू आबद्ध रहेको संघमा चार हजार ५५ मतदाता रहेको निर्वाचन कार्यलयले जनाएको छ। कार्यालयका अनुसार गत २९ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनकै वेला वस्तुगततर्फ एक उपाध्यक्षसहित दुईजना निर्विरोध निर्वाचित भइसकेका छन्।
संघको १७ सदस्यीय कार्यसमितिमा दुईजना निर्विरोध निर्वाचित भइसकेकाले शनिबारको मतदानले एसोसिएटतर्फ एक–एक उपाध्यक्ष र सदस्य, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, दुई महिला सदस्य र पाँच खुला सदस्य गरी १५ जना निर्वाचित गर्दै छ। निर्वाचनमा प्रदीप गुप्ता र श्याम गुप्ता प्यानलसहित प्रतिस्पर्धामा छन्।