लगानी जुटाउने अन्तिम चरणमा पुगेको दुधकोशीमा वनको अवरोध

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • परियोजनाको इआइए प्रतिवेदन ढिलो प्राप्त भएको भन्दै मन्त्रालयले गर्‍यो अस्वीकृत, पुन: सुरुदेखि गर्नुपर्ने

एसियाली विकास बैंक (एडिबी)सँग वित्तीय व्यवस्थापन सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पुन: सुरुदेखि गर्न वन तथा वातावरण मन्त्रालयले भनेको छ । दातृ निकायबाट ऋण लिएर नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको उक्त परियोजनाको इआइए प्रतिवेदन ढिलो प्राप्त भएको भन्दै मन्त्रालयले अस्वीकृत गरी पुन: सुरुदेखि गर्न भनेको हो । 

नेपालमा सबै परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति गराउनुपर्छ । वनको स्वीकृतिपछि मात्रै परियोजना निर्माणको काम अघि बढाउन पाइन्छ । कार्यादेश (टिओआर) स्वीकृति भएको दुई वर्षभित्र इआइए प्रतिवेदन पेस हुनुपर्ने व्यवस्था छ । त्यसपछि मन्त्रालयले आवश्यक मूल्यांकन गरेर प्रतिवेदन स्वीकृत तथा अस्वीकृत गर्न सक्छ । 

प्राधिकरणले ‘दुधकोशी हाइड्रोपावर कम्पनी’ नामक सहायक कम्पनी स्थापना गरेर यो परियोजना अघि बढाएको छ । कम्पनीले विद्युत् विकास विभागमा टिओआर लिएको दुई वर्षभित्रै इआइए प्रतिवेदन बुझाएको थियो । २०७५ मा टिओआर लिएको कम्पनीले २०७७ मै इआइए प्रतिवेदन विभागमा बुझाएको थियो । विभागले त्यसमा आवश्यक मूल्यांकन गरेर मन्त्रालय पठाउँदा भने समय लागेको होे । तर, मन्त्रालयले ढिलो बुझाएको भन्दै इआइए प्रतिवेदन अस्वीकृत गरेर पुन: सुरुबाट गर्न भनेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । कम्पनीका सिइओ वसन्तध्वज श्रेष्ठले वन तथा वातावरण मन्त्रालयबाट परियोजनाको इआइए पुन: गर्नुपर्ने निर्णय आएको जानकारी दिए । 

तर, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता विशाल घिमिरेले यसबारे जानकारी प्राप्त भइनसकेको बताउँदै थप बुझेर खबर गर्ने बताए । मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको वातावरणीय प्रभाव अध्ययन शाखा एक अधिकारीले भने दुधकोशी जलविद्युत्लाई पुन: इआइए गर्न भनिएको स्वीकार गरे ।

यता ऊर्जासचिव चिरञ्जीवी चटौतले यसमा उचित निकास निकाल्ने प्रयास भइरहेको बताए । ‘वन तथा वातावरण मन्त्रालयले दुधकोशी जलविद्युत् परियोजनाको इआइए पुन: गर्नुपर्ने भनेर निर्णय दिएको जानकारी ऊर्जा मन्त्रालयमा पनि आएको छ । इआइए प्रतिवेदन ढिलो बुझाएको भनेर यस्तो निर्णय भएको भन्ने बुझिएको छ । कम्पनीले भने विद्युत् विकास विभागमा समयमै प्रतिवेदन बुझाएको देखिन्छ । विभागले आवश्यक मूल्यांकन गरेर मन्त्रालय पठाउँदा थप समय लाग्यो । परियोजनाले समयमै इआइए प्रतिवेदन बुझाएको भनेर गरेको दाबी ठिक छ । तर, कुन निकायमा बुझाउने भन्नेमा द्विविधा देखियो,’ उनले भने, ‘इआइए आफैँमा जटिल हो । सबै प्रक्रिया पूरा गर्दा धेरै नै समय लाग्छ । तसर्थ, मन्त्रिपरिषद्बाट निर्णय गरेर केही निकास निकाल्न सकिन्छ कि भनेर छलफल पनि गरिरहेका छौँ ।’

विद्युत् विकास विभागका महानिर्देशक मनदेवी श्रेष्ठले परियोजनाबाट इआइए प्रतिवेदन समयमै प्राप्त भएको बताइन् । ‘परियोजनाले टिओआर स्वीकृति भएको दुई वर्षभित्रै विभागमा इआइए प्रतिवेदन बुझाएको हो । त्यसमा विभागले आवश्यक अध्ययन गरेर थप कागजपत्र मगाउनेलगायतका काम बिचमा गरेको हो । त्यसपछि विभागले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा इआइए प्रतिवेदन पठाएको हो,’ उनले भनिन्, ‘त्यसमा मन्त्रालयले ढिलो बुझाएको भन्दै पुन: इआइए गर्नुपर्ने भनेर निर्णय गरेको भन्ने जानकारी आएको छ । तर, विभागमा पत्र प्राप्त भइसकेको छैन ।’

जलाशययुक्त परियोजना भएका कारण नेपालको प्रणालीलाई यो परियोजना आफैँमा महत्वपूर्ण छ । सकेसम्म छिटो बनाउन सकेमा हिउँदको विद्युत् माग धान्नलाई धेरै सहयोग पुग्ने देखिन्छ । एडिबीको नेतृत्वमा विदेशी ऋण लिएर यो परियोजना बनाउने तयारी छ । त्यसमा एडिबीसँग वित्तीय व्यवस्थापन सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा छ । यस्तो समयमा पुन: इआइए गर्नुपरेमा परियोजना निर्माणमा थप झमेला हुने देखिन्छ ।

सार्वजनिक सुनुवाइलगायतका काम गर्दा इआइए गर्न लगभग दुई वर्ष समय लाग्नेछ । पहिलो पनि दुई वर्ष समय लागेको थियो । त्यसपछि आवश्यक अध्ययन तथा मूल्यांकन गरेर वन तथा वातावरण मन्त्रालयले स्वीकृति गर्दा थप समय लिनेछ । त्यसले परियोजनाको निर्माण थप अन्योलमा पर्ने कम्पनीका कर्मचारीहरू बताउँछन् । ‘एडिबीका लागि पनि छुट्टै इआइए गरेको हो । सरकार र एडिबीलाई बुझाउने इआइए सँगसँगै गरेको हो । हामीले समयमै विद्युत् विकास विभागमा इआइए बुझाएको हो, जुन सरकारी निकाय नै हो,’ कम्पनीका एक कर्मचारीले भने, ‘ढिलो बुझायो भनेर इआइए प्रतिवेदन अस्वीकृत गर्दै पुन: सुरुबाट गर्नु भन्ने निर्णय तर्कसंगत छैन । न्यायपूर्ण पनि छैन ।’

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बन्ने ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् परियोजनाको लागत अनुमान दुई अर्ब २० करोड डलर छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । यसमा एडिबीले आफैँले ५५ करोड डलरसहित अन्य दातृनिकायबाट थप स्रोत जुटाएर एक अर्ब ५० करोड डलरहाराहारीमा ऋण लगानी गर्दै छ । यसको प्रक्रिया अहिले द्रुत गतिमा अघि बढेको छ । यो वेला पुन: इआइए गर्नुपरेमा परियोजनाको निर्माण पनि पछि धकेलिनेछ । 

सन् १९८५ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यस परियोजनाको पहिचान गरेको थियो । सन् १९९८ मा नेपाल विद्युत् प्राधिकरणले यस परियोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछि सन् २०१३ मा सम्भाव्यता अध्ययनको रिभ्यु गरिएको थियो । त्यसपछि यसको निर्माण अघि बढाउने प्रयास गरिएको थियो । आयोजनाबाट वार्षिक रूपमा तीन अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुने छ । यसमध्ये सुक्खायाममा एक अर्ब ३६ करोड र वर्षायाममा दुई अर्ब आठ करोड युनिट विद्युत् उत्पादन हुनेछ । 

यो परियोजना दुधकोशी नदी र यसका अन्य सहायक खोलाहरूको पानीलाई उपयोग गर्ने गरी डिजाइन गरिएको छ । यस जलाशययुक्त आयोजनाको मुख्य बाँध खोटाङ र ओखलढुंगा जिल्लाको सिमानामा पर्ने रबुवा बजारभन्दा करिब एक किमि दक्षिणमा निर्माण हुनेछ । आयोजनाका दुईवटा विद्युत्गृह हुनेछन् । 

प्रक्रिया पूरा गर्दा धेरै समय लाग्छ : चिरञ्जीवी चटौत, सचिव ऊर्जा मन्त्रालय
वन तथा वातावरण मन्त्रालयले दुधकोशी जलविद्युत् परियोजनाको इआइए पुन: गर्नुपर्ने भनेर निर्णय दिएको जानकारी ऊर्जा मन्त्रालयमा आएको छ । इआइए प्रतिवेदन ढिलो बुझाएको भनेर यस्तो निर्णय भएको भन्ने बुझिएको छ ।

कम्पनीले भने विद्युत् विकास विभागमा समयमै प्रतिवेदन बुझाएको देखिन्छ । विभागले आवश्यक मूल्यांकन गरेर मन्त्रालय पठाउँदा थप समय लाग्यो । परियोजनाले समयमै इआइए प्रतिवेदन बुझाएको भनेर गरेको दाबी ठिक छ ।

तर, कुन निकायमा बुझाउने भन्नेमा द्विविधा देखियो । इआइए आफैँमा जटिल हो । सबै प्रक्रिया पूरा गर्दा धेरै नै समय लाग्छ । तसर्थ, मन्त्रिपरिषद्बाट निर्णय गरेर केही निकास निकाल्न सकिन्छ कि भनेर छलफल पनि गरिरहेका छौँ ।
 

See More On

सुझावित समाचार