भोजपुर केवल भौगोलिक नाम मात्र होइन, यो इतिहास, संस्कृति, श्रम र पहिचानको जिउँदो दस्ताबेज पनि हो । सहरीकरणको बढ्दो चापका बाबजुद भोजपुर पुग्दा अझै तीन–चार दशकअघिको नेपालमा पुगेजस्तो महसुस हुन्छ । त्यहाँ सुन्दर डाँडाकाँडा, खोलानाला र हरियालीबिच उभिएका मौलिक शैलीका पुराना घर अझै देख्न सकिन्छ । सुन्तलाका बगैँचा, हाटबजारको चहलपहल, रुद्राक्ष खेती र विश्वप्रसिद्ध भोजपुरे खुकुरीसम्मले भोजपुर एउटा जिउँदो खुला संग्रहालयजस्तो देखिन्छ ।
भोजपुरका गाउँ–बस्तीमा आज पनि ढुंगा, माटो र काठले बनेका पुराना घर भेटिन्छन् । ती पुराना घर इतिहासका मौन साक्षीजस्ता लाग्छन् । ढुंगाको छाना, काठका झ्यालढोकाले बनेका ती कलात्मक घर तत्कालीन जीवनशैली र सीपका प्रतीक हुन् । नेपालका धेरै ठाउँमा आधुनिक भवनको भिडले पुराना घर हराउँदै गएका छन्, तर भोजपुरका झ्याँउपोखरी, भिरगाउँजस्ता ठाउँमा पुग्दा अझै पनि मौलिक नेपालको आत्मा बोकेर ती गाउँले बसेको अनुभूति हुन्छ ।
भोजपुरमा किसानको भरोसा सुन्तला रहेछ । भोजपुर सुन्तला उत्पादनका लागि पूर्वी नेपालकै परिचित स्थान पनि हो । यहाँको माटो र हावापानीले सुन्तलालाई स्वादिलो र रसिलो बनाएको छ । हिउँद लागेसँगै पहेँलपुर सुन्तलाले भरिएका बगैँचाले भोजपुरको पहिचान झनै उज्यालो बनाउँछ । सुन्तला खेतीले हजारौँ किसानको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
ती सुन्तला बजार झर्छन् । कतिपय ठुला सहरसम्म पुग्छन् । भोजपुरको ग्रामीण जीवनको धड्कन हाटबजार लाग्यो । भोजपुरका हाटबजार ग्रामीण अर्थतन्त्रका मेरुदण्ड नै मान्न सकिने रहेछ । हप्तामा एक–दुई दिन लाग्ने हाटमा किसानले आफ्ना उत्पादन बेच्ने गर्छन् । उपभोक्ताले आवश्यक सामग्री खरिद गर्छन् । हाटबजार केवल व्यापारको केन्द्र मात्र होइन, सामाजिक भेटघाट, सूचना आदान–प्रदान र सम्बन्ध सुदृढ गर्ने थलो पनि रहेछ । धार्मिक अध्यात्मिक दृष्टिले रुद्राक्षको आफ्नै महत्व छ । भोजपुर रुद्राक्ष खेतीका लागि समेत चर्चित छ । त्यहाँको अर्थतन्त्रमा रुद्राक्षको ठुलो देन छ । यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । पछिल्लो समय रुद्राक्ष खेती व्यावसायिक बन्दै गएपछि किसान यसतर्फ आकर्षित भएका छन् । यसले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको स्थानीयको भनाइ छ ।
भोजपुरको अर्को जबर्जस्त परिचय हो, भोजपुरे खुकुरी । शौर्यको प्रतीक खुकुरी भोजपुरको सान पनि हो । भोजपुरमा पुस्तौँदेखि खुकुरी बनाउँदै आएका कालीगढको सीप आज पनि जीवित छ । धारिलो फलाम, सन्तुलित बनावट र बलियो पकडका कारण भोजपुरे खुकुरी नेपाली सेनादेखि विदेशी संग्रहकर्तासम्मको रोजाइमा पर्छ ।
भोजपुर पुग्ने एउटा गन्तव्यमा अझै नदीमा फेरिबाट गाडी तार्नुपर्छ । यस्तो परिस्थितिबाट भोजपुर मुक्त हुन चाहन्छ । विकासको गतिमा अघि बढ्न चाहान्छ, तर आफ्नो परम्परा मासिने सर्तमा होइन । स्थानीयका अनुसार भोजपुर परम्परागत सौन्दर्य नमासिने विकासको पक्षमा छ । पुराना घरहरूको संरक्षण, कृषि र घरेलु उद्योगको प्रवद्र्धन तथा पर्यटनको विकास गर्न सके भोजपुर अझ समृद्ध र चिनिएको गन्तव्य बन्न सक्ने देखिन्छ । प्राकृतिक देन, मानवीय श्रम र सीपको खानी भोजपुरले पर्यटक पर्खिरहेको छ ।