‘मेरो जुत्ता फिर्ता गरिदिनुहोला’

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • जेन–जी विद्रोहका क्रममा घाइते भएका प्रकाश बोहराको जुत्ता आन्दोलनको प्रतीक बन्यो, उनलाई भेट्न भने एक महिनासम्म अस्पतालमा कोही गएनन् 

राष्ट्रिय ट्रमा सेन्टरको चौथो तलास्थित बेड नम्बर ४५१ मा सुतिरहेका छन्, जेन–जी आन्दोलनका घाइते प्रकाशबहादुर बोहरा । शड्ढयानजिकै माथिपट्टि झुन्डिएको छ, चन्द्रसूर्य अंकित नेपालको झन्डा । प्रकाश सुतिरहेको ओछ्यानको आडैमा ठड्याइएका छन्, उनले टेक्ने दुइटा बैसाखी । उनको नजिकै सानो बेन्चमा कुरिरहेकी छिन्, ६० वर्षीया आमा नन्दा बोहरा । प्रकाश सुतिरहेका वेला घाउ चस्किन्छ । उनी बर्बराउँछन् । निद्रामा ऐया–ऐया भन्छन् । छोराको घाउ दुखाइले नन्दा छट्पटाउँछिन्, छोरालाई थम्थम्याउँछिन् ।

नारायण नगरपालिका– ८ दैलेखका प्रकाशलाई २३ भदौमा नयाँबानेश्वरस्थित संसद् भवनबाहिर प्रहरीले चलाएको गोली लाग्यो । गोलीले देब्रे खुट्टाको घुँडाभन्दा माथिको हड्डी नै उड्यो । मासु छियाछिया भयो । पछिल्लो चार महिनादेखि प्रकाश अस्पतालमै छन् । बेडमा छट्पटाइरहेका २९ वर्षीय प्रकाश घरीघरी सोच्छन्, ‘मेरो खुट्टा पुरानै अवस्थामा फर्किएला कि नफर्किएला ?’

उनै प्रकाशको रगत लतपतिएको जुत्ता जेन–जी आन्दोलनको प्रतिबिम्ब बन्यो । आन्दोलनमा सरकारले मच्याएको बर्बरतालाई चित्रण गर्‍यो । जुत्ता लगाउने प्रकाश भने ऐया–ऐया भन्दै अझै ट्रमा सेन्टरको चौथो तलामा दिन कटाउँदै छन् । डाक्टरले भनेअनुसार उनको उपचार तालिका निकै लामो छ । उनको खुट्टाले राम्ररी टेकेर हिँड्न सक्ने हुन अझै चार–पाँच वर्षसम्म उपचार गर्नुपर्छ ।

प्रकाश वेला–वेला निद्रामै बर्बराउँछन् । दुखाइ कम हुँदा अस्पतालको शड्ढयाबाटै बाहिरी दृश्य नियालिरहन्छन् । मोबाइलबाट हरेक दिनको अपटेड हेर्छन् । ‘आन्दोलनमा होमिएर गोली खायौँ । यो त्याग खेर जानुभएन’ उनले सुनाए, ‘देशले स्थायित्व र परिवर्तन पाओस्, युवाहरू अरूको देशमा पुगेर बेचिन नपरोस्, रोजगार र शिक्षा स्वास्थ्य सहज बनोस्, मुख्य त देशको भलो होस् ।’

प्रकाश यता अस्पतालको बेडमा लडिरहँदा उता उनको जुत्ता आन्दोलनको प्रतीक बन्यो । ‘मेरो जुत्ता त्यसरी भाइरल बनिरहेको छ भन्ने मलाई केही दिनपछि मात्रै थाहा भयो, अझ मेरो नै जुत्ता हो भनेर मिडियामा आएकै थिएन,’ प्रकाशले सुनाए,‘एक महिनापछि मात्रै मेरो जुत्ता हो भन्ने विषय खुलेको थियो, तर मलाईचाहिँ यो मेरो जुत्ता हो भन्ने सामाजिक सञ्जालमा हेर्दा नै लागेको थियो ।’ प्रकाशलाई त्योे जुत्ता त्यहाँ कसरी छाडियो भन्ने सम्झना पनि छ । संसद् भवनबाहिर गोली लागेर उनी ढलेपछि उनलाई एम्बुलेन्समा चढाउन कठिन भएपछि साथीभाइले जुत्ता खोलिदिएका थिए । त्यो जुत्ता प्रकाशले जेठमा नेपालगन्जमा ३५ सयमा किनेका थिए ।

गोली लागेपछि प्रकाशको खुट्टामा हालसम्म चारपटकसम्म अपरेसन भइसकेको छ । उनको खुट्टालाई सीधा र हिँड्न सक्ने बनाउन केही अपरेसनको आवश्यक हुने चिकित्सकले बताउँदै आएका छन् । पछिल्लो चार महिनादेखि त्यही बैसाखीको भरमा छन् । जेन–जी आन्दोलनपछि उथलपुथल र राजनीतिक अवस्था देख्दा प्रकाशलाई अझै सडकमा उत्रिन मन लाग्छ । उनी सरकारलाई अझै घच्घच्याउन चाहन्छन् ।

जेन–जी आन्दोलनपछि दुई सयभन्दा बढी घाइते ट्रमा सेन्टरमा उपचारका लागि आएका थिए । अरू सबै घाइते निको भए । कतिपय फलोअपमा आउँछन् । तर, प्रकाशको भने उपचार प्रक्रिया नै लामो छ । उनको खुट्टामा लगाइएका टाँका बिस्तारै निको हुँदै छन् । पहिलेभन्दा दुखाइ र खुट्टाको अवस्था सुधार हुँदै गएको छ । तर, गोली लागेको खुट्टा केही छोटो भएकाले उनले टेक्न सक्दैनन् । तर, थेरापी र अन्य केही अपरेसनपछि भने खुट्टा टेक्न मिल्ने र पुरानै अवस्थामा पुग्न सक्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।

एक महिनासम्म कोही पुगेनन् भेट्न 
उपचारपछि फर्किएका साथीहरू उनलाई भेट्न अस्तालमा गइरहे । तर, घाइते भएको करिब एक महिनासम्म उनलाई भेट्न सरकार र जेन–जी अगुवाका तर्फबाट कोही गएनन् । ‘कोही भेट्न आएनन्, म एक्लै छु जस्तै लागिरह्यो,’ उनले भने । आन्दोलनको आइकन बनेको जुत्ता प्रकाशको हो भन्ने थाहा पाएपछि गृहमन्त्री ओमप्रकाश अर्याल र जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङसहित केही जेन–जी युवाहरूले उनलाई भेटे । प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ट्रमा सेन्टर र निजामती अस्पतालका घाइते भेट्न पुगेकी थिइन् । तर, प्रकाशसँग भने त्यतिवेला भेट भएन । गृहमन्त्री अर्याल र स्वास्थ्यमन्त्री सुधा शर्मा पनि मन्त्री भएपछि अन्य घाइते भेट्न अस्पताल पुगे । तर, प्रकाशसँग भेट भएन । गृहमन्त्री भने प्रकाश र अन्य घाइतेलाई भेट्न पटक–पटक अस्पताल पुगेका थिए । घाइते परिचयपत्र दिन पनि गृहमन्त्री अर्याल पुगेका थिए । प्रधानमन्त्री कार्कीसँग भेट्न बैसाखी टेकेर उनीलगायत अन्य घाइतेहरू प्रधानमन्त्री कार्यालयमा २० दिनअघि भेट्न पुगेका थिए । प्रकाशलगायत अन्य घाइतेलाई भेट्न प्रमुख ठुला दलका नेताहरू पनि अस्पताल पुगेनन् । जेन–जी आन्दोलनको अगुवा तथा अभियन्ता भन्नेहरू बाहिरी राजनीतिमा बढी चासो दिन थालेको र आफ्नो स्वार्थमा लागेको घाइते प्रकाशको बुझाइ छ । ‘यो आन्दोलन जेका निम्ति भयो त्यो लक्ष्य पूरा हुनुपर्छ, अहिले र भोलि बन्ने सरकारले घाइते तथा पीडित पक्षलाई बेवास्ता गर्न मिल्दैन, उनीहरूले घाइते र सहिद परिवारको म्यान्डेटलाई बुझ्नुपर्छ,’ प्रकाश भन्छन्, ‘तर पदको लालच र लोभले आन्दोलनको मर्मलाई कमजोर पारिनुभएन, हामीले जे चिताएर आन्दोलनमा जाँदा गोली खायौँ त्यसको मर्म पूरा होस् ।’

कतार पुलिस बन्ने सपना अधुरै 
जेन–जी आन्दोलनका घाइते भएका प्रकाश केही दिनदेखि काठमाडौंमा आउनुको कारण थियो, कतार प्रहरीमा जानका लागि आवश्यक प्रक्रिया चाल्नु । अनलाईनबाट उनले कतार प्रहरीका लागि आवश्यक कागजात पठाइसकेका थिए । त्यसअघि १८ महिना रसियामा आर्मीको जागिरे बनेर फर्किएका उनलाई त्यो परिचयले पनि कतार प्रहरीमा छिर्न सजिलोे थियो । उनका गाउँमा दाइ र भाइ पनि उनीसँगै कतार प्रहरीमा जान तयारी गरिरहेका थिए । तर, २३ भदौको जेन–जी आन्दोलनलाई आत्मसात् गरेका प्रकाशको कतार प्रहरी बन्ने सपना चकनाचुर बनेको छ । ‘उताबाट भिसा केही दिनमा आउनेवाला थियो, तर के सोचेको थिएँ के भयो,’ प्रकाशले सुनाए । एचए पढेका प्रकाश पढाइमा पनि अब्बल छन् । तर, नेपालमा जागिर पाउन समस्या हुने र तलब पनि थोरै हुने भएकाले उसको सुरुदेखिकै सोच विदेश जाने थियो ।

रसियाबाट बाँचेर फर्किए
०८० को मंसिरतिर प्रकाश रसिया पुगेका थिए । त्यहाँ पुग्न उनले १२ लाख पैसा खर्च गरेका थिए । द्वन्द्वरत देश रसियामा पुगेपछि उनी सेना बने । रसियन सेनाका रूपमा बन्दुक बोकेर युक्रेनसँगको युद्धमा होमिए । त्यहाँ उनी मुस्किलले गोलीबाट बचे । उनीसँगै गएका थुप्रै साथीहरू त्यतै अस्ताए । युद्ध मैदानमा १८ महिना बिताएर मुस्किलले बाँचेर नेपाल फर्किए । उनी छुट्टी मागेर चार महिनाअघि मात्रै नेपाल आइपुगेका थिए । प्रकाशले त्यहाँ कमाएको पैसाले गएको ऋण तिरेँ । गाउँमा घर बनाए । नेपाल आएपछि फेरि रसिया जाने सोच त्यागे । त्यसपछि उनले कतारतिर जाने योजना थालेका थिए ।

खुट्टा पुरानै अवस्था नपुगे परिवारको दु:ख कसरी टार्ने उनलाई चिन्ता छ । प्रकाशका बुबा–आमा, एकजना दाइ, दुईजना बहिनी, श्रीमती र एक छोरा छन् । उनकी श्रीमती दैलेखकै एक अस्पतालमा नर्सको रूपमा काम गर्छिन् ।

कुरुवा बसेकी आमा नन्दा छोरालाई कहिले निको होला र घर जान पाइएला भनेर बसेकी छिन् । ‘रसियामा छँदा एक दिन फोन नआउँदा मुटु ढुकढुुक हुन्थ्यो, अब त छोरा बाँचेर फर्कियो भन्ने लागेको थियो, नेपाल फर्किएपछि यहाँ काम खोज्ने प्रयास पनि गर्‍यो । तर, काम भेटिएन । घर बस्नुभन्दा अझै केही वर्ष विदेशमै जान्छु भनेर काठमाडौं आएको थियो, सरकारले गोली हानेर यो हालतमा पुर्‍यायो,’ उनी भन्छिन् ।

हाल प्रकाशको उपचार खर्च सबै नि:शुल्क भइरहेको छ । तर, कतिपय औषधि भने अस्पतालमा नपाउने भएकाले आफैँले किन्ने गरेको आमा नन्दा बोहराले बताइन् । नन्दा रसिद काट्न घरी अस्पतालको भुइँतलामा ओर्लिन्छिन्, कहिले चौथो तलामा उक्लिन्छिन् । निको भएपछि प्रकाशलाई रोजगार दिनुपर्नेलगायत माग परिवारले राखेका छन् । 

त्यो दिन सम्झिँदा...
प्रकाशले जेन–जी आन्दोलन हुँदै छ भन्ने खबर सामाजिक सञ्जालबाटै थाहा पाएका थिए । आन्दोलनमा जान्छु भन्ने मुड बनाए । किनकि देशको बेरोजगारी, कुशासनदेखि उनी आक्रोशित थिए । २३ भदौ बिहान नयाँबानेश्वरस्थित डेराबाट निस्किए । उनलाई आन्दोलनको नीति, नेतृत्व इत्यादिबारे धेरै थाहा थिएन । उनलाई यति मात्र लागेको थियो,‘देश परिवर्तन भएन । परिवर्तनका लागि अहिले आन्दोलन नगरे कहिले गर्ने ?’

प्रकाश ११ बजे माइतीघर पुगे । त्यहाँ पुग्दा उनीजस्ता थुप्रै युवाहरू देखिए । सडकमा युवाहरूले नारा घन्काइरहेका थिए । विद्यार्थीदेखि अलि अधबैँसे उमेरका मानिसहरू त्यहाँ धेरै थिए । भिड देखेर प्रकाशलाई झन् जोस जाग्यो । उनीहरू माइतीघरबाट नारा लगाउँदै बानेश्वर चोक पुगे । उनीहरू त्यहाँ पुग्नुअघि नै प्रहरीले पानीका फोहोर र अश्रुग्यास हान्न थालिसकेका थियो । त्यहाँबाट प्रकाश र उनका केही साथी नयाँबानेश्वर चोकबाट बिजुलीबजारतिर फर्किए । त्यहाँ फेरि अर्को गु्रप भेटियो । प्रकाशको टिम त्यही गु्रपसित बानेश्वरतर्फ मोडियो । बानेश्वर चोक पुग्दा फेरि अश्रुग्यास हानिरहेको थियो । बानेश्वर चोक कटेर संसद भवनतर्फ लागे । नारा लगाउँदै र भिडियो बनाउँदै उनीहरू संसद् भवनतिर गइरहेका थिए । युवाहरूले संसद् भवनको भित्ता फोड्दै गरेको देखे । कोही रेलिङ तानिरहेका थिए । ‘हामी नारा लगाउँदै त्यहाँ पुगेका थियौँ । त्यत्तिकैमा मेरो खुट्टामा ड्यांग गोली लाग्यो । म सडकमा गल्र्याम्मै ढलेँ । त्यसपछि उठ्न र सर्न खोजेँ । सकिनँ । अरू साथीहरू दौडिए म भएतिर आए । मलाई उठाए । गोली लागेर ढले पनि पूरै होस थियो । तर, एउटा खुट्टामा कुनै महसुस थिएन ।’ 

त्यतिवेला उनको खुट्टाबाट रगतको भल बगेको थियो । खुट्टा रबरजस्तै बनेको थियो । रगतले जुत्ता भिजिसकेको थियो । गोली लागेको देब्रे खुट्टाको जुत्ता साथीहरूले खोलेर सडकमै फालिदिए । उनको हातमा हेलमेट पनि थियो । त्यो पनि त्यही सडकमै फालेर उनलाई एम्बुलेन्समा बसालेर अस्पताल लगियो । ‘एउटा जुत्ता गोली नलागेको खुट्टामा थियो । नजिकै एम्बुलेन्स कराइरहेको थियो । साथीहरूले एम्बुलेन्समा बसाले । त्यहाँबाट ट्रमा सेन्टरमा ल्याइयो । 

प्रकाशलाई तत्काल अपरेसन गर्नुपर्छ भनेर अपरेसन थिएटरमा लगियो । १०–१२ घण्टा लामो अपरेसन भयो । गोलीले मासु र हड्डी छियाछिया भएकाले अपरेसनमा धेरै समय लाग्यो ।

२४ घण्टापछि भदौ २४ गते साँझ मात्र उनी ब्युँझिए । ब्युझिँदा अस्पतालको आइसियू कक्षमा थिए । त्यति नै वेला उनले सबै जल्योे, ध्वस्त भयो भनेको मात्रै सुने । उनको वरपर अरू बिरामी पनि थिए । चिकित्सकहरू आपसमा कुराकानी गर्दै थिए । प्रकाशलाई के भएछ भन्ने लाग्यो । उनले चिकित्सक र अस्पताल पुगेका आफन्तहरूलाई सोधे । सिंहदरबारदेखि प्रधानमन्त्री कार्यालय पनि जलेको थाहा पाएपछि उनलाई छटपटी भयो । देशको धरोहर सम्पदा जलाउँछु भनेर उनले एकमनले पनि सोचेका थिएनन् । २३ गते प्रहरीले चलाएको गोलीबाट सहिद हुने र घाइते हुनेहरूको संख्या सुन्दा उनी अस्पतालको बेडमै रोए ।

प्रकाश भन्छन्, ‘हामीले गरेको आन्दोलनको मूल विषयलाई नै गिजोल्न थालियो । जेन–जी आन्दोलनको मर्मलाई सफल पार्न अझै दिइएको छैन ।’ हाल जेन–जी आन्दोलनलाई सरकारले जनआन्दोलन भनेर निर्णय गरिसकेको छ । हाल जेन–जीकै सरकार भए पनि धेरै कुरा पूरा नभएकोमा प्रकाश असन्तुष्ट छन् । ठुला दलहरूले युवाहरूलाई पालो दिन नखोजेको, चुनाव भाँड्न लागेको, जेन–जी सरकारले जेन–जीकै माग बेवास्ता गरेकोप्रति प्रकाश आक्रोशित छन् । ‘अब चुनावपछि आउने सरकारले यस्तो नगरोस् । जेन–जी घाइते मात्रै नभएर समग्र जेन–जीहरूको हितमा काम गरोस्, जेन–जीहरूको समस्या समाधान गरोस्,’ उनी भन्छन्, ‘देशमा आर्थिक क्रान्ति होस्, युवाहरू विदेश पलायन हुन नपरोस् । शिक्षा र स्वास्थ्य यही देशभित्र सजिलै पाइयोस् । स्थिर सरकार होस् ।’

जुत्ता फिर्ता गर्न प्रकाशको अनुरोध 

ट्रमा सेन्टरमा उपचाररत प्रकाशबहादुर बोहरा आमा नन्दाका साथमा

जेन–जी आन्दोलनपछि रगताम्य भएको प्रकाशको जुत्ता विश्वभरि छायो । २३ भदौमा उनले लगाएको सेतो जुत्तामध्ये एउटा नयाँबानेश्वरमा छोडिएको थियो । एउटा ट्रमा सेन्टरमा उपचारका क्रममा चिकित्सकले खोलिदिएका थिए । बानेश्वरको सडकमा छोडिएको उनको जुत्ता आन्दोलनकै प्रतीक बन्यो । उक्त जुत्ता कसैले लगेको भए फिर्ता दिन प्रकाशले अनुरोध गरेका छन् । ‘त्यो जुत्तालाई सम्हालेर राख्ने मन छ, तर कहाँ छ थाहा छैन,’ प्रकाशले भने, ‘यदि कोहीसँग भए फिर्ता गरिदिनुहोला ।’ 

See More On

सुझावित समाचार