आगामी २१ फागुन ०८२ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ। निर्वाचनका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ। तर, पछिल्ला दिनहरूमा निर्वाचन (म्यादी) प्रहरीतर्फ युवाको आकर्षण घटिरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विगत र अहिलेको तथ्यांकअनुसार यसपटकको निर्वाचनमा म्यादी प्रहरीतर्फ आकर्षण घटेको पाइएको हो।
यसअघि ०७९ मा सम्पन्न भएका स्थानीय, प्रदेश र संघीय सदस्य निर्वाचनमा म्यादी प्रहरीको आकर्षण उल्लेख्य भए पनि यसपटक ०८२ मा देखिएको छैन । स्थानीय तह निर्वाचनमा तीन हजार ४९५, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार हजार ८९८ युवाले दरखास्त दिएका थिए । अहिले ०८२ मा घटेर दुई हजार ९०६ युवाले मात्रै दरखास्त दिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक एवं भर्ना छनाेट समितिका सदस्यसचिव वीरेन्द्रसिंह थापाले एक हजार २२० महिला र एक हजार ६८६ पुरुषले दरखास्त दिएका छन्। सशस्त्र प्रहरीतर्फ २९० निर्वाचन प्रहरीतर्फ दरखास्त दिएका छन्। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणको तथ्यांकअनुसार १९४ जनाले मात्रै सशस्त्र प्रहरी निर्वाचनमा दरखास्त दिएका छन्।
९६ कमले दरखास्त दिएका हुन् । कञ्चनपुरका सशस्त्र प्रहरी प्रहरी सशस्त्र उपरीक्षक (एसपी) लोकेन्द्र भट्टले १०१ पुरुष र ९३ महिलाले दरखास्त दिएको बताए। एसपी भट्टले संयुक्त रूपमा फारम संलकन गरेर पछि समायोजन गरिने बताए।
वैदेशिक रोजगारी, पछिल्ला दिनहरूमा प्रहरीमा बढी खटिनुपर्ने, त्यसअनुरूप पारिश्रमिक तथा सेवा–सुविधा नहुने भएपछि म्यादी प्रहरीमा युवा आकर्षण घटिरहेको सुरक्षा अधिकारीको भनाइ छ। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले छोटो अवधिका लागि भएको जागिर हुँदा युवाहरू वैदेशिक रोजगारीमा गएकाले गत वर्षहरूको तुलनामा कम दरखास्त परेको गरेको बताए । पछिल्ला दिनमा म्यादी प्रहरी मात्रै होइन, स्थायी प्रहरीतर्फ पनि आकर्षण घटिरहेको चिन्ता व्यक्त गरिएको छ ।