विशेष महाधिवेशनबाट बनेको कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचन प्रयोजनका लागि सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । संस्थापनले सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षरमा टिकट वितरण गर्दै आएको छ । राष्ट्रिय सभाको टिकटमा पनि देउवाकै हस्ताक्षर छ ।
त्यसैगरी, निर्वाचन घोषणापत्र निर्माण समिति सभापति थापाको नेतृत्वमा र निर्वाचन परिचालन समिति उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको छ । सानो आकारको संसदीय बोर्ड गठनबारे पनि छलफल भएको र शुक्रबार बस्ने बैठकले त्यसबारे निर्णय गर्ने केन्द्रीय सदस्य उज्ज्वल बरालले बताए । बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ता पनि नियुक्त गरेको छ ।
विशेष महाधिवेशन पक्षधर केन्द्रीय नेतृत्वले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश गर्ने जनाएको छ । ‘आधिकारिकता निरूपण भएपछि हामी पार्टी कार्यालय जान्छौँ । अहिले कार्यालय नजानु विशुद्ध प्राविधिक विषय हो, राजनीतिक होइन,’ प्रवक्ता चालिसेले भने ।