आँखा शिविरले फर्कायो उज्यालो

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण
आँखा शिविरले फर्कायो उज्यालो

नि:शुल्क शिविरमा शल्यक्रियापछि आँखा देख्ने भएका चरीमाया तामाङ र पनिया सदा (अगाडि) ।

बिहान र साँझ छुट्याउन नसक्ने अन्धकारमा तीन वर्ष बिताएकी चरीमाया तामाङले जब पहिलोपटक आफ्नै आँखाले श्रीमान् र छोरीको अनुहार देखिन्, त्यो क्षण केवल दृष्टि फर्किएको थिएन– जीवन नै फेरि फर्किएको अनुभूति गरिन् । उदयपुरको रौतामाई गाउँपालिका– २, बोदेकी चरीमाया तीन वर्षभन्दा बढी समय दुवै आँखाको ज्योति गुमाएर जीवन बितारहेकी थिइन् । उनका लागि संसार अन्धकारमै सीमित थियो । बिहान–साँझ, घर–आँगन, आफन्त–परिवार सबै कुरा केवल आवाज र स्पर्शका भरमा थिए । आँखाको ज्योति गुमेपछि चरीमायाको दैनिकी अरूको सहारामा निर्भर बन्न पुग्यो । घरबाहिर निस्कन, भान्सासम्म पुग्न वा सामान्य काम गर्नसमेत उनलाई कठिन थियो । ‘आफू अरूका लागि बोझ बनेको महसुस हुन्थ्यो,’ विगत सम्झँदै उनले भनिन् । तर, शिविरमार्फत शल्यक्रियापछि उनको अवस्था पूर्ण रूपमा फेरिएको छ । 

चरीमायाकी कान्छी छोरी सरिता तामाङका लागि यो शिविर उपचार मात्र होइन, परिवारको जीवनमै फर्किएको उज्यालो हो । भावुक हुँदै उनले भनिन्, ‘यसरी नि:शुल्क आँखाको उपचार पाउँदा शिविर सञ्चालन गरेर उपचार गरिदिने सबैलाई हृदयदेखि धन्यवाद छ । हामीजस्ता गरिबका लागि डाक्टरहरू भगवान्भन्दा कम हुनुहुन्न । आमाले फेरि संसार देख्नुभएको छ, यो त चमत्कार भएको छ ।’

चरीमायाका श्रीमान् कृष्णबहादुर तामाङ तीन वर्षभन्दा बढी समय श्रीमतीको हात समातेर हिँड्दाको पीडा सुनाउँछन् । आँखाभरि आँसु झार्दै उनले भने, ‘तीन वर्ष पूरा भएर चौथो वर्ष लाग्दा श्रीमतीले मलाई देखिनन् । अब सायद मैले उनलाई डोहोर्याएर हिँड्नुपर्दैन होला ।’

शिविरले उज्यालो फर्काइदिएको कथा चरीमायाको मात्र होइन । चौदण्डीगढी नगरपालिका– ९, डुंगाकी ५० वर्षीया पनिया सदाको पीडा पनि कम गहिरो थिएन । आठ महिनाअघि अचानक दुवै आँखाको ज्योति गुमेपछि उनको संसार पनि अँध्यारो बनेको थियो । विपन्न परिवारकी पनिया सदा बनिबुतो गरेर जीविकोपार्जन गर्थिन् । अस्पताल गएर उपचार गराउनुपरेको कुरा थियो ।

एउटा लौरोको सहारामा मात्र सामान्य हिँड्डुल गर्न सक्ने उनको आत्मविश्वास दिनानुदिन खस्किँदै गएको थियो । घरपरिवार र समाजबाट टाढिँदै गएको अनुभूतिले उनलाई सताइरहन्थ्यो । तर, आँखा शिविरपछि अवस्था फेरिएको छ । दुवै आँखाले स्पष्ट देख्न थालेपछि लौरो छाडेर स्वतन्त्र रूपमा हिँड्न सक्ने भएकी छिन् उनी । चरीमाया र पनिया दुवै मोतीविन्दुको समस्याबाट पीडित थिए ।

तिलगंगा आँखा अस्पताल काठमाडौंको आयोजना र भिजन हिमालय फाउन्डेसनको सहयोगमा दशदिने नि:शुल्क आँखा उपचार शिविरमा चरीमाया र पनियाको मात्र होइन, धेरैको आँखाको ज्योति फर्किएको छ ।

गत १९ देखि २९ पुससम्म चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा बृहत् नि:शुल्क आँखा शिविर सञ्चालन भएको थियो । दुवै पालिकामा फेला परेका गम्भीर प्रकृतिका आँखारोगीको नेत्र विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतको टोलीले शल्यक्रियामार्फत उपचार गरेको थियो ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका बाह्य कार्यक्रम अधिकृत महेश पराजुलीका अनुसार दुवै नगरपालिकामा सञ्चालन भएको आँखा शिविरामा तीन हजारभन्दा बढीको आँखाको परीक्षण गरिएको थियो । ‘४३४ जनाको मोतीविन्दु र चारजनाको आँखामा मासु पलाएको उपचार गरिएको छ,’ उनले भने । शिविरबाट ५०८ जना शल्यक्रियामा छनोट गरिए पनि ४३८ जना मात्र सेवा लिन आएका थिए । यस वर्ष डा. रुइत आफैँ आएर जटिल प्रकृतिका आँखाको उपचार गर्ने भएपछि बिरामीको संख्या बढेको थियो ।

See More On

सुझावित समाचार