ग्रिन डेभलपमेन्ट बैंकद्वारा आठ प्रतिशत बोनस सेयरकाे प्रस्ताव पारित

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आठ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न बैंकको १३औँ वार्षिक साधारणसभाले लाभांशसँगै विभिन्न प्रस्तावहरू पारित गरेको हो।

सभामा बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको ८.४६ प्रतिशत लाभांशसँगै अन्य विभिन्न प्रस्ताव पारित भएको हो । सभाले ८.०३९६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

लाभांशसँगै सभाले सामान्य प्रस्तावको रूपमा रिक्त रहेको संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ८ पुसमा नियुक्त भएका पोखराका नरेन्द्ररमण त्रिपाठीको नियुक्ति अनुमोदन गर्ने, आर्थिक वर्ष ०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको असार मसान्त ०८२ सम्मको वासलात, आव ०८१/८२ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, चालू आव ०८२/८३ को लागि बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव छलफल गरी पारित गरेको थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिबहादुर बुढाथोकीले शाखा सञ्जालमार्फत वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाउँदै दिगो लगानी प्रवर्द्धन, डिजिटल उपकरण विस्तार र हरित बैंकिङमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्दै अघि बढ्ने बताएका थिए। कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुर गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको बैंकको प्रधान कार्यालयसँगै १६ शाखा सञ्चालनमा रहेका छन् । 
 

सुझावित समाचार