रोयटर्स समाचार एजेन्सीले तीनजना कूटनीतिज्ञलाई उद्धृत गर्दै कतारस्थित अमेरिकी सेनाको अल उदेइद हवाई आधारबाट केही कर्मचारीलाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको बताएको छ । इरानमा भइरहेको विरोध प्रदर्शनमा हस्तक्षेप गर्न सक्ने अमेरिकाको चेतावनीबिचमा बुधबार साँझसम्ममा कर्मचारीलाई सुरक्षित स्थानमा जान भनिएको हो । तथापि, दोहास्थित अमेरिकी दूतावासले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
अल उदेइद मध्यपूर्वमा रहेका कैयौँ अमेरिकी अड्डामध्ये सबैभन्दा ठुलो हो, जहाँ लगभग १० हजार सैनिक छन् । गत वर्ष पनि अमेरिकाले इरानमा हवाई आक्रमण सुरु गर्नुअघि केही कर्मचारी र तिनका परिवारलाई अन्यत्र सारिएको थियो । जुन महिनामा अमेरिकी आक्रमणपछि, इरानले कतारको त्यस अड्डामाथि क्षेप्यास्त्र आक्रमण गरेको थियो ।
कतारको राजधानी दोहाभन्दा बाहिरको मरुभूमि क्षेत्रमा रहेको अल उदेइद सैन्य आधार करिब २४ हेक्टरमा फैलिएको छ । अमेरिकी केन्द्रीय कमान्डको मुख्यालय मानिने यस सैन्य आधारले नै पश्चिममा इजिप्टदेखि पूर्वमा कजाकिस्तानसम्म फैलिएको विशाल क्षेत्रमा अमेरिकी सैन्य अप्रेसनलाई निर्देशित गर्छ ।
क्षेत्रीय देशलाई इरानको ‘चेतावनी’
उता तेहरानले पनि अमेरिकी हवाई अड्डा भएका मध्यपूर्वका देशलाई वासिंटनले आफूमाथि आक्रमण गरेमा तिनका भूमिमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गर्ने चेतावनी दिइसकेको रोयटर्सले लेखेको छ । अहिले इरानमा देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीमाथि व्यापक दमनका सामाचारबिच इरानमा सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएका छन् । यस टिप्प्णीबिच इरानले पनि कडा प्रतिक्रिया जनाउने बताएको छ । उता ट्रम्पले इरानी प्रदर्शनकारीलाई देशका राज्य संस्था कब्जा गर्न आह्वान गर्दै ‘मद्दत छिटै आइरहेको’ बताएका छन् ।
इरान–अमेरिकाबिच कूटनीतिक सम्पर्कसमेत विच्छेद
इरान र अमेरिकाबिच तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका र इरानका वरिष्ठ अधिकारीबिचको प्रत्यक्ष सम्पर्क टुटेको छ । इरानका विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विट्कोफबिचको सञ्चार बन्द भएको एकजना वरिष्ठ इरानी अधिकारीले बुधबार रोयटर्स समाचार एजेन्सीलाई बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य हस्तक्षेप गर्ने धम्की दिइरहँदा दुई देशबिचको सबै सम्पर्क टुटेको छ । इरानले देशभित्र भइरहेको विरोध प्रदर्शनमाथि व्यापक दमन गरिरहँदा ट्रम्पले प्रदर्शनकारीको पक्षमा हस्तक्षेप गर्ने बताइरहेका छन् ।
इरानले आफूमाथि आक्रमण गरिए मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी आक्रमण गर्ने वाचा गरेको छ । अमेरिकाले विगत एक वर्षदेखि युरोपेली सहयोगीसँग मिलेर इरानको आणविक कार्यक्रमबारे तेहरानसँग छलफल गरिरहेका थियो । यद्यपि, इरानी अधिकारीले पछिल्लो तनावबिच प्रगतिको सम्भावना टरेको बताएका छन् ।
‘अमेरिकी धम्कीले कूटनीतिक प्रयासलाई कमजोर बनाउँछ,’ उनले भने, ‘दशकौँ लामो आणविक विवादको कूटनीतिक समाधान खोज्न दुई अधिकारीबिचको कुनै पनि सम्भावित बैठक रद्द गरिएको छ ।’ उनले यो पनि भने कि तेहरानले यस क्षेत्रमा रहेका अमेरिकी सहयोगीलाई वासिंटनलाई आक्रमण गर्नबाट रोक्न आग्रह गरेको छ ।