अथक प्रयत्नपछि ८४ वर्षीया वृद्धाले सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । वयोवृद्ध उमेरमा नागरिकता पाएपछि लालकुमारी श्रेष्ठको जीवनमा खुसी मात्रै ल्याएको छैन, आत्मविश्वास पनि बढेको छ । मंगलबार नागरिकताको प्रमाणपत्र हात पारेपछि उनले भनिन्, ‘अब त म पनि यही देशकी भएँ ।’
बाह्रबिसेको पलातीमा १९९८ सालमा जन्मिएकी थिइन् लालकुमारी । त्यतिवेला नेपाल राणाशासनको कठोर नियन्त्रणमा थियो । नागरिकको अस्तित्व राज्यको कागजमा भन्दा शासकको कृपामा निर्भर हुन्थ्यो । यसकारण लालकुमारी श्रेष्ठको नाम राज्यका कुनै कागजमा लेखिएन । शासन फेरियो, संविधान फेरियो । राणा गए, राजा गए, गणतन्त्र आयो । तर, लालकुमारी भने ८४ वर्षसम्म आफ्नै देशमा अनागरिक बनिरहनुपर्यो ।
आमा रत्नकुमारी श्रेष्ठले ६ महिनामै र बुबा इन्द्रवीर श्रेष्ठले १५ महिनामै छाडेर यो संसारबाट बिदा भएका थिए । उनको हेरचाह गर्ने मानिससमेत कोही नहुँदा जन्मदर्ता गराउने कुरै भएन । त्यसै क्षणदेखि उनी राज्यका लागि अदृश्य भइन् । आफन्तको सहारामा हुर्किए पनि लालकुमारीले बाल्यकालमा विद्यालयको ढोका देखिनन् । अक्षर चिन्न पाइनन् । अरूको दयामा बाँच्नु जीवनको आधार बन्यो ।
०१८ मा उनको विवाह साँगाचोकका कृष्णबहादुर श्रेष्ठसँग भयो । विवाहले जीवनमा केही सहजता ल्याउँछ भन्ने आशा उनमा थियो । तर, त्यो पनि लामो समय टिकेन । ०३० मा श्रीमान्को निधन भयो । छोराछोरीको भविष्यका लागि उनी काठमाडौँ पुगिन् । घरघरमा काम गरिन्, इँटा बोकिन्, भारी उठाइन् । ज्याला मजदुरीकै भरमा उनले सन्तान हुर्काइन् ।
पछि फेरि उनी गाउँ फर्किइन् । अरूको खेतबारीमा पसिना बगाउँदै जीवन बित्यो । आज ८४ वर्षको उमेरमा पनि उनी काम नगरी एकछाक खान पाउँदिनन् । बुढो शरीरले सकी–नसकी अरूको निमेक गरेर जीवन बिताउन विवश छिन् ।
लालकुमारीले जीवनमा कहिल्यै अस्पताल देखिनन् । सरकारी कार्यालय त झन् परको कुरा । नागरिकता नहुँदा राज्यका कुनै सुविधा उनले पाइनन् । न स्वास्थ्य, न सामाजिक सुरक्षा, न सम्मान । नजानेरै बुढेसकाल गुजारिन् । जब बुझिन्, तब प्रक्रिया उनको उमेर र अवस्थाभन्दा निकै जटिल भइसकेको थियो ।
३० भदौ ०८२ मा उनले नागरिकताका लागि निवेदन दिएकी थिइन् । तर, जवाफ आयो, उनको नाम राज्यका कुनै पनि अभिलेखमा छैन । अदालत जान सुझाव दिइयो । ८४ वर्षकी वृद्धाका लागि अदालत, कानुन र प्रक्रिया सरल थिएनन् । तर, उनले हार मानिनन् । स्थानीय समाजसेवीको सहयोग, निरन्तर पहल र अधिवक्ता सुष्मा गिरीको कानुनी सहजताले यो विषय अगाडि बढ्यो । समाज, प्रहरी, अदालत र सम्बन्धित सरकारी निकायमा स्थानीय युवा गोविन्द पाठकले समन्वय गरेका थिए ।
स्थानीय रामकुमार पाठक, नरेन्द्र केसी, दधिराम पराजुली, पुरुषोत्तम कार्की, सुकदेव तिमिल्सिना, अशोक पराजुलीलगायतले निरन्तर साथ दिए । वडाध्यक्ष शेखर भण्डारी, नीरबहादुर तामाङ, गृह मन्त्रालयका अधिकारीहरू र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सहकार्यपछि अन्तत: जिल्ला प्रशासन कार्यालय चौताराबाट नागरिकता जारी भयो ।
२९ पुसमा लालकुमारीले नेपाली नागरिकता पाइन् । त्यतिवेला उनका हात काँपिरहेका थिए । आँखा रसाएका थिए । ‘अब त म पनि यही देशकी भएँ,’ आँसु झार्दै भनिन् ।
नेपालको संविधानले हरेक नागरिकको नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, लालकुमारीको जीवनले भोगेको कानुनी जटिलताले टुहुरा, गरिब, अशिक्षित, महिला र सीमान्तकृत समुदाय अझै सरकारी कागजात पाउन वञ्चित रहेको पुष्टि हुन्छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चौतारा साँगाचोकगढी नगरपालिका– १० मा बस्दै आएकी लालकुमारीले वंशजको नागरिकता प्राप्त गरेको बताए । ‘वडाको सिफारिस, प्रहरी रिपोर्ट, समाजका सबै पक्षको सर्जमिनका आधारमा उहाँलाई नागरिकता प्रदान गरेका हौँ,’ उनले भने ।