सन् २०११ : ट्युनिसियाका राष्ट्रपति बेन अली देशमा चलेको विरोध प्रदर्शन रोक्न नसकेपछि साउदी अरब भागे । उनले २३ वर्षदेखि अधिनायकवादी शासन चलाइरहेका थिए ।
सन् १६६५ : पोर्चुगलले भारतस्थित आफ्नो व्यापारी बन्दरगाह औपचारिक रूपमा अंगेजलाई हस्तान्तरण गर्यो । सो बन्दरगाह इंग्ल्यान्डका राजा चाल्र्स द्वितीय र पोर्चुगलका राजा जोन चतुर्थको छोरी क्याथरिनबिच मे ११ मा भएको विवाहमा दाइजोका रूपमा इंग्ल्यान्डलाई दिइएको थियो ।
सन् १७६१ : तेस्रो पानीपथको युद्धमा अफगानिस्तानको डुर्रानी साम्राज्यले मराठा साम्राज्यलाई हरायो । यस युद्धमा झन्डै चालीस हजार मराठा युद्धबन्दी मारिएका थिए ।
सन् १७८४ : अमेरिकी कंग्रेसले अघिल्लो वर्ष सेप्टेम्बरमा भएको ‘पेरिस सम्झौता’लाई औपचारिक रूपमा अनुमोदन गर्दै अर्को पक्ष बेलायतलाई अनुमोदन गर्न पठायो । बेलायतले अप्रिल ९ मा सम्झौता अनुमोदन गरेपछि अमेरिकाले विश्वभर स्वतन्त्र देशको मान्यता पाएको थियो ।
सन् १७९४ : अमेरिकी चिकित्सक जेस बेनेटले विश्वको पहिलो सफल ‘सिजेरियन सेक्टन (शल्यक्रियाबाट बच्चा जन्माउने)’ शल्यक्रिया गरे । बेनेटले शल्यक्रिया आफ्नै श्रीमती एलिजावेथमाथि गरेका थिए, जसबाट उनीहरूको एक मात्र सन्तान जन्मिइन् ।
सन् १८१४ : ‘किल सम्झौता’ले डेनमार्कका राजा फ्रेडरिक छैटौँलाई स्विडेनका राजा चाल्र्स तेह्रौँलाई नर्वे हस्तान्तरण गर्न बाध्य बनायो । योसँगै डेनमार्क र स्विडेनबिचको चार सय वर्ष लामो एकता अन्त्य गर्यो ।
सन् १९११ : रोल्ड एमुन्डसेन नेतृत्वको अभियान दल ‘रोस आइस सेल्फ’ पुग्यो । सो अभियान दलले त्यही विन्दुलाई प्रारम्भिक विन्दु मानेर दक्षिण ध्रुवको अभियान सुरु गर्यो । पछि त्यही अभियान दल दक्षिण ध्रुव पुग्ने पहिलो मानव समूह बनेको थियो ।
सन् १९१४ : भारतीय वकिल महात्मा गान्धी र दक्षिण अफ्रिकाका ब्रिटिस प्रशासक जनरल जान स्मुटबिच भएको गान्धी–स्मुट सहमतिले दक्षिण अफ्रिकामा भारतीयमाथि भइरहेका करदेखि विवाह स्वीकृतिसम्मको विषय सम्बोधन भयो ।
सन् १९२९ : अफगान राजा अमानुल्लाहले युरोपेली शैलीको सुधारलाई तीव्रता दिएसँगै देशका रुढिवादीले सुरु गरेको विद्रोह चर्किंदै गएपछि अमानुल्लाहले दाइ इनायतुल्ला खानलाई गद्दी हस्तान्तरण गर्दै राजीनामा दिए ।
सन् १९४३ : दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल, अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्ट सम्मिलित मित्रशक्तिले मोरक्कोको कासाब्लान्का भेटेर युद्धको आगामी रणनीतिबारे छलफल सुरु गरे ।
सन् १९५३ : युगोस्लाभियाको संसद्ले मार्सल जोसेफ ब्रोज टिटोलाई देशको पहिलो राष्ट्रपति चुन्यो ।