राष्ट्रिय लिग आजदेखि : उपाधिका लागि १७ क्लब प्रतिस्पर्धामा

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण
राष्ट्रिय लिग आजदेखि : उपाधिका लागि १७ क्लब प्रतिस्पर्धामा

एन्फाले दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा राष्ट्रिय लिग खेलाउने ।

  •  ०७९ मा भएको सहिद स्मारक  ‘ए’ डिभिजनका १३ र प्रेसिडेन्ट कपमा शीर्ष चार स्थान रक्षा गरेका टोली राष्ट्रिय लिगमा सहभागी
  •  काँक्रेविहार, लालीगुराँस, चित्लाङ र नवजनजागृति नवप्रवेशी क्लबका रूपमा उपस्थित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबारदेखि राष्ट्रिय लिग आयोजना गर्दै छ । तीनवटा मैदानमा हुने लिगमा १७ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहिद स्मारक ‘ए’ डिभिजनका १३ र प्रेसिडेन्ट कपमा शीर्ष चार स्थान रक्षाको टोलीले राष्ट्रिय लिगमा उपाधिका लागि भिड्नेछन् । प्रतियोगितामा हिमालयन शेर्पाले सहभागिता जनाएको छैन । हिमालयनबाहेक गत ०७९ को सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका अन्य क्लबले लिग खेल्ने एन्फाले जनाएको छ । 

पंकजविक्रम नेम्वाङ नेतृत्व रहेको एन्फाले ०७९ पछि ‘ए’ डिभिजन लिग आयोजना गर्न सकेको छैन । लिग नहुँदा खेलाडी बिदेसिएको र राष्ट्रिय फुटबल टोलीसमेत कमजोर बनिरहँदा एन्फामाथि दबाब बढेको थियो । एन्फाले क्लबहरूसँगको सहमतिमै घरेलु फुटबललाई सक्रिय बनाउन राष्ट्रियको आयोजना गर्न लागेको हो । सुरुमा एन्फाले राष्ट्रिय लिगको घोषणा गर्दा १० क्लबले मात्र प्रतिस्पर्धा गर्ने जनाएको थियो । ०७९ को सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष ६ तथा प्रेसिडेन्ट कपका चार क्लबबिच खेल हुने एन्फाको भनाइ थियो । 

प्रेसिडेन्ट कपबाट काँक्रेविहार, लालीगुराँस, चित्लाङ र नव जनजागृति राष्ट्रिय लिगमा छनोट भएका थिए । तर, शीर्ष डिभिजन क्लबले विरोध जनाएपछि एन्फाले खुला आह्वानबाट राष्ट्रिय लिगमा खेल्न भनियो । 

त्यसपछि मात्र गत संस्करणको ‘ए’ डिभिजन लिगबाट थप सात टोलीले अवसर पाएका हुन् । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको हिमालयन शेर्पाले भने आन्तरिक कारण देखाउँदै राष्ट्रिय लिगमा सहभागी नहुने निर्णय गरेको थियो । तीन वर्षपछि राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्न पाएपछि मंगलबार आयोजित प्रिपोस्ट म्याचमा खेलाडी तथा प्रशिक्षक दंग देखिए । पत्रकार सम्मेलनमा उनीहरूले लामो समयदेखि घरेलु फुटबलमा फर्कन पाउँदा युवा खेलाडीहरूले अवसर पाउने बताए । रेलिगेसनविनाको हुने लिगको खासै रौनक नथपिने देखिन्छ । फेरि एन्फाले राष्ट्रिय लिगको बारेमा केवल सोसल मिडियामा मात्र प्रचार गरेको छ ।

११ क्लबसँग ‘ए’ डिभिजन खेलेको अनुभव
राष्ट्रिय लिगमा सहभागी १७ मध्ये ११ क्लबसँग ‘ए’ डिभिजन लिग खेलेको अनुभव छ । तीन वर्षअघि भएको लिगमा एपिएफ, मच्छिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, एनआरटी, जावलाखेल युथ, संकटा, चर्च ब्वाइज, सातदोबाटो र फ्रेन्ड्सले प्रतिस्पर्धा गरेका थिए । सो सिजनको लिगमा थ्री स्टार र खुमलटार युथ क्लब रेलिगेसनमा परेका थिए । गत वर्ष भएको ‘बी’ डिभिजन लिगबाट श्री भगवती र प्लानिङ ब्वाइज बढुवा भएका थिए । उनीहरूको यो राष्ट्रिय लिग पहिलो अवसर हुनेछन् । एन्फा प्रेसिडेन्टका गरी समग्रमा राष्ट्रिय लिगमा ६ टोली नवप्रवेशी क्लबका रूपमा रहेका छन् । ०७९ को लिगमा पहिलोपटकको सहभागितामै चर्च ब्वाइजले उपाधि जितेको थियो । उसले डबल राउन्ड रोबिन लिगमा भएको प्रतिस्पर्धामा २६ खेलमा सर्वाधिक ४८ अंक जोडेको थियो । सो लिगमा मच्छिन्द्र उपविजेता बन्दा २६ खेलमा ४५ अंक हात पारेको थियो । 

तीनवटा मैदानमा खेल
एन्फाले एन्फा कम्प्लेक्ससँगै च्यासल र दशरथ रंगशालामा लिग गर्नेछ । लिगको उद्घाटन मंगलबार बिहान ११ बजे काँक्रेविहारले फ्रेन्ड्स क्लबको सामना एन्फा कम्प्लेक्समा गर्नेछ । दिउँसो तीन बजे श्री भगवती र चर्च ब्वाइज युनाइटेडबिच हुने एन्फाले जनाएको छ । एन्फाले राष्ट्रिय लिग चलिरहँदा महŒवपूर्ण कार्यक्रमका कारण खेलहरू स्थगित गर्नेछ । २३ माघ देखि ९ फागुनसम्म एन्फा निर्वाचन, मोफसलका प्रतियोगिताहरू र राष्ट्रिय खेलकुदका लागि विश्राम दिइएको छ । यसैगरी, राष्ट्रिय निर्वाचनका दौरान १६ देखि २३ फागुनसम्म खेलहरू हुने छैनन् । यसैगरी, १६ र १७ माघमा नेपाल र चीनको टोलीबिच हुने मैत्रीपूर्ण खेलका कारणले पनि राष्ट्रिय लिग हुनेछैन । एन्फाले यसअघि नै आवश्यकताअनुसार खेलतालिका फेरबदल गर्न सक्ने  अधिकार आफूसँगै राखेको जनाएको थियो । 

चार क्लबमा स्थानीय खेलाडी
राष्ट्रिय लिगका लागि शीर्ष डिभिजनका क्लबहरूले राम्रा स्वदेशी र विदेशी खेलाडीहरूलाई अनुबन्ध गरेका छन् । मच्छिन्द्र, एनआरटी, संकटा, सातदोबाटो, फ्रेन्ड्स र चर्च ब्वाइज क्लबहरूले घरेलु फुटबलकै चर्चित खेलाडी अनुबन्ध गरेका छन् । विभागीय क्लबहरू एपिएफ, पुलिस र आर्मीले भने आफूअनुकूल खेलाडी समावेश गरी टोली बनाएका छन् । लिगकै बहानामा क्लबहरूले पनि प्रशिक्षक परिवर्तन गरेका छन् । एपिएफले सात वर्षपछि राजेन्द्र तामाङलाई प्रमुख प्रशिक्षक बनाएको छ । ‘ए’ डिभिजनको पूर्वविजेता मच्छिन्द्रले भने पुरानै अनुभवी प्रशिक्षक प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । पहिलोपटक राष्ट्रिय लिग खेल्न छनोट भएका मोफसलका क्लबहरू लालीगुराँस, काँक्रेविहार युवा क्लब र नवजनजागृति क्लबले मोफसलका युवा खेलाडीहरू समावेश गरेका छन् । काठमाडौंबाट प्रतिनिधित्व गरेको चित्लाङ एफसी पनि स्थानीय खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । एन्फा प्रेसिडेन्ट कपमा पोखराको लालीगुराँसले फाइनलमा चित्लाङलाई टाइब्रेकरमा ३–१ ले हराउँदै उपाधि हात पारेको थियो । 

सहभागी क्लब 
नेपाल एपिएफ एफसी, काँक्रेविहार वाईसी, श्री भगवती, सातदोबाटो युथ, लालिगुराँस एशोसिएसन, मच्छिन्द्र एफसी, चित्लाङ एफसी, त्रिभुवन आर्मी एफसी, प्लानिङ ब्वाइज युनाइटेड, नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, नवजनजागृति, न्यु रोड टिम (एनआरटी), जावलाखेल युथ, संकटा एफसी, चर्च ब्वाइज युनाइटेड, फ्रेन्ड्स 

सुझावित समाचार