नेपालमा शंकास्पद आर्थिक कारोबार ३० प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले मंगलबार आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सार्वजनिक गर्दै शंकास्पद कारोबारमाथि निगरानी पनि बढेको उल्लेख गरेको छ ।
प्रतिवेदनअुनसार आर्थिक वर्ष ०८१/८२ मा नौ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार भएका छन्। आर्थिक वर्ष ०८०/८१ को तुलनामा यो ३० प्रतिशतले धेरै हो।
इकाइले गोएम प्रणालीमार्फत शंकास्पद कारोबारको नियमन गर्दै आएको छ। प्राप्त प्रतिवेदनहरुको विश्लेषण पनि ४० प्रतिशतले बढेको इकाइद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। इकाइले नौ सय ४५ वटा प्रतिवेदन थप छानबिनका लागि नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा पठाएको छ। ‘यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास लिइएको छ ।’