कांग्रेस क्रिटिकल अवस्थामा छ : विजय गच्छदार

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता विजय गच्छदारले पार्टी गम्भीर अवस्थामा पुगेको बताएका छन्।

सानेपामा सञ्चारकर्मीहरूले पार्टी क्रिटिकल अवस्थामा गएको हो भनी गरेको प्रश्नमा गच्छदारले भने, ‘एकदम गएको छ। थाहै छ नि, यो त बाहिरै देखिने कुरा हो। भित्र पनि एकदम जटिल छ।’

आफूले यसअघि पनि पार्टी विभाजन भोगेको उल्लेख गर्दै उनले कुनै हालतमा कांग्रेस विभाजन हुन नहुने बताए। तर, विशेष महाधिवेशनका कारण पार्टी संकटमा परेको गच्छदारको भनाइ थियो।

आफू विशेष महाधिवेशनको विरोधी नभएको स्पष्टीकरण दिँदै उनले गत कात्तिक २६ गतेको केन्द्रीय समिति बैठकमा नै आफूले पुसमा विशेष अधिवेशन गर्नुपर्ने धारणा राखेको स्मरण गराए।

‘विशेष अधिवेशन पुसमा हुनुपर्छ भनेर कात्तिक २६ गते केन्द्रीय समितिको बैठकमा आफ्नो पोजिसन राखेको हुँ,’ उनले भने, ‘तर, विशेष अधिवेशन पार्टी चारैतिर मिलाएर गर्दा राम्रो हुने थियो। त्यो देखिएन। त्यसकारण विशेष अधिवेशनले पार्टीलाई संकटमा पुर्याउनुहुँदैन।’

सुझावित समाचार