नाइजेरियाका स्कुले बालबालिका सधैँ असुरक्षित

बढ्दो विद्यार्थी अपहरणका कारण उत्तरी र मध्य–नाइजेरियाका धेरै क्षेत्रका विद्यालयमा छात्रछात्राको उपस्थितिमा व्यापक गिरावट आएको छ

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

आतंकवाद र फिरौतीका लागि अपहरणमा पर्ने डरले नाइजेरियाली विद्यार्थीको पढाइ लामो समयदेखि अवरुद्ध छ । यदि अभिभावकले नयाँ वर्षमा आफ्ना बच्चालाई विद्यालय फर्कन अनुमति दिने हो भने पर्याप्त सुरक्षा पूर्वाधार, स्पष्ट सञ्चार प्रोटोकल र प्रभावकारी पूर्वचेतावनी प्रणाली आवश्यक पर्नेछ ।नोभेम्बरमा विद्यालयबाट अपहरण गरिएका सयौँ नाइजेरियाली बालबालिका अझै पनि कैदमा छन् वा बेपत्ता छन् । हालै १०० जना विद्यार्थीको उद्धारले पनि आत्मविश्वास पुनस्र्थापित गर्न खासै काम गरेको छैन ।

विद्यालय बन्द भएका कारण वा अभिभावकले आफ्ना बालबालिकालाई घरमा राखेका कारण उत्तरी र मध्य–नाइजेरियाका धेरै क्षेत्रमा विद्यालयमा उपस्थिति घटेको छ । यो कुनै आश्चर्यको कुरा होइन । २०२४ मा जारी युनिसेफको सुरक्षित विद्यालय अनुगमन प्रतिवेदनका लागि न्यूनतम मापदण्डले हालै पत्ता लगायो कि दश नाइजेरियाली राज्यमा अनुगमन गरिएका विद्यालयमध्ये केवल १७ प्रतिशतले कम्तीमा ७० प्रतिशत आधारभूत मापदण्ड लागू गरिरहेका थिए ।

जनवरीको मध्यमा अर्को स्कुल सत्र सुरु हुनुभन्दा पहिले यो अवस्थालाई समाधान गर्नुपर्छ । त्यस उद्देश्यका लागि नाइजेरियाली सरकार र अन्तर्राष्ट्रिय कोषदातालाई स्कुल–सुरक्षा प्रस्तावको एक शृंखला प्रस्तुत गरिएको छ । फिल्डमा खटिएको युनिसेफको टोली, सेफ स्कुल इनिसियटिभ अर्थात् सुरक्षित स्कुल पहललाई आर्थिक सहयोग गर्ने व्यवसायी नेता र स्थानीय तथा राष्ट्रिय प्रशासकद्वारा प्रस्ताव तयार पारिएको थियो ।

नाइजेरियाको शिक्षा प्रणाली विद्यालयमा हुने गरेको न्यून भर्ना दरसँग निकै संघर्ष गरिरहेको छ । अपहरणका घटना धेरै हुने राज्यमा समस्या तीव्र छ । २०२३ को एमआइसिएस–इएजिएलई नाइजेरिया एजुकेसन फ्याक्ट सिट्सका अनुसार केब्बीमा ६७ प्रतिशत केटी र ६२ प्रतिशत केटा (जहाँ हालै २५ विद्यार्थी अपहरण गरिएका थिए) प्राथमिक विद्यालयमा भर्ना भएका छैनन् । माध्यमिक विद्यालयमा भर्ना दर प्रायः अपरिवर्तित छ । स्कुलबाहिर रहेका लाखौँ प्राथमिक विद्यालय जाने उमेरका बालबालिकामध्ये धेरैले त्साङया र इस्लामिया विद्यालयमा अनौपचारिक इस्लामिक शिक्षा प्राप्त गर्छन् । केब्बीका तीन र चार वर्षका बालबालिकामध्ये केवल चार प्रतिशतले प्रारम्भिक बाल्यकाल शिक्षामा भाग लिन्छन्, जबकि काट्सिनामा १० प्रतिशत, जिगावामा १६ प्रतिशत र कादुना (अन्य उत्तरी राज्य) मा ३२ प्रतिशत यस्तो शिक्षामा सहभागी छन् ।

आतंकवादले गर्दा धेरै नाइजेरियाली विद्यार्थीको पढाइ अवरुद्ध छ । सशस्त्र गिरोह अब फेरि कहिल्यै शक्तिशाली हुनेछैनन् भन्ने सुनिश्चितता गर्दै सरकारले जोखिम क्षेत्रका विद्यालयलाई सुरक्षित ढंगले सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ 

वर्षौंदेखि संघीय तथा राज्य शिक्षा मन्त्रालयहरू र राष्ट्रिय सुरक्षित विद्यालय प्रतिक्रिया समन्वय केन्द्रले स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा समुदाय र विद्यालयको क्षमता विकास गर्न महत्वपूर्ण प्रयास गरेका छन् । यसले आतंककारी मात्र नभई डाँकुहरूको गिरोहको पनि प्रतिरोध गर्न सक्छन्, जसले अब अपहरण गरिएका बालबालिकाको फिर्ताको लागि माग गरिएको फिरौतीलाई पैसा कमाउने व्यक्तिको रूपमा हेर्छन् । सुरक्षा उपायमा विद्यालयमा आधारित व्यवस्थापन समिति र शिक्षकलाई सुरक्षा प्रक्रियामा तालिम दिने, अलार्म र बार लगाउने र सम्भावित खतराको पहिचान, न्यूनीकरण र प्रतिक्रिया योजना विकास गर्न समुदायमा आधारित स्टेयरिङ समितिमार्फत दूरसञ्चार लिंक सिर्जना गर्ने समावेश छ ।

तर, यदि अभिभावकले नयाँ वर्षमा आफ्ना बच्चालाई कक्षाकोठामा फिर्ता पठाउने हो भने थप परिधिको बार र सीमा पर्खाल खडा गरेर, क्यामेरा र अन्य निगरानी उपकरण स्थापना गरेर र सुरक्षित प्रवेश विन्दु र आपत्कालीन निकास पहिचान गरेर कमजोर विद्यालयको सुरक्षा पूर्वाधार स्तरोन्नति गर्न तत्काल आवश्यक छ । केही अवस्थामा अलार्म प्रणालीजस्ता आधारभूत प्रावधान पनि आवश्यक पर्छ ।

यी परिवर्तन विद्यालय, स्थानीय अधिकारी र सुरक्षा एजेन्सीबिच स्पष्ट सञ्चार प्रोटोकलको विकास र कार्यान्वयनद्वारा पूरक हुनुपर्छ । शिक्षकलाई निकासी प्रक्रियामा तालिम दिने र आक्रमणको सामना गर्दा कसरी उत्तम प्रतिक्रिया दिने भन्नेबारे मार्गदर्शन प्रदान गर्ने कार्यक्रमलाई पुनर्जीवित गर्न पनि आवश्यक हुनेछ ।
यदि अपहरण जारी रह्यो भने एकान्त वा उच्च जोखिम भएका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई सुरक्षित मानिएका विद्यालयमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । जहाँ शिक्षण पुनः सुरु गर्न सकिँँदैन, त्यहाँ अनलाइन वा रेडियो पाठ सुरु गर्न आवश्यक हुन सक्छ । न त हामी बालबालिकामा कक्षाकोठाको समय गुमाउनुको गहिरो प्रभावलाई कम आकलन गर्न सक्छौँ । निश्चय पनि आघातको सामना गर्न मद्दत चाहिन्छ ।

तर, सर्वोच्च प्राथमिकता भनेको विद्यालयमा र विद्यालयनजिकै सुदृढ सुरक्षा प्रदान गर्नु हो । संघीय र राज्य शिक्षा मन्त्रालयसँगको साझेदारीमा युनिसेफले २.६ मिलियन डलरको सहयोग कार्यक्रम प्रस्ताव गरेको छ, जुन हाल प्रकाशित छैन । तर, सम्बन्धित सरोकारवालालाई साझा गरिएको छ । पहिलो कार्य अपहरणबाट प्रभावित विद्यार्थी र शिक्षक, साथै उनीहरूका परिवारको मनो–सामाजिक आवश्यकता पूरा गर्नु हुनेछ । दोस्रो कार्य भनेको नाइजेरिया लर्निङ पासपोर्टमार्फत स्कुल बन्दबाट पीडित बालबालिकाका लागि सिकाइको निरन्तरता प्रदान गर्नु हो, जुन मोबाइल र अफलाइन क्षमता भएको अनलाइन इ–लर्निङ प्लेटफर्म हो । तेस्रो कार्य भनेको विद्यालयको सुरक्षा स्तर निर्धारण गर्न शिक्षा मन्त्रालयलाई द्रुत मूल्यांकन उपकरणले सुसज्जितगर्नु हुनेछ ।

तर, सबैभन्दा तत्काल आवश्यकता भनेको कोषदाताहरूले जनवरीमा नाइजेरियाली बालबालिका सुरक्षित रूपमा विद्यालय फर्कन सकून् भनेर पर्याप्त सुरक्षा उपाय सुनिश्चित गर्नु हो । अपेक्षाकृत सीमित वित्तपोषणका साथ हामी संघीय र राज्य सरकारलाई प्रारम्भिक चेतावनी प्रणाली लागू गर्न, उत्तरी नाइजेरियाका सबैभन्दा जोखिममा रहेका विद्यालयका लागि कार्ययोजना सिर्जना गर्न र संकटको समयमा उच्च गति सञ्चारका लागि इन्टरनेट राउटर समावेश गर्ने सुरक्षित–विद्यालय कीट वितरण गर्न आवश्यक प्राविधिक र लजिस्टिक सहयोग प्रदान गर्न सक्छौँ ।

पछिल्ला अपहरणका घटनाले हामीलाई सम्झाउँछन् कि आतंकवादले गर्दा धेरै नाइजेरियाली विद्यार्थीको पढाइ अवरुद्ध छ । सशस्त्र गिरोह अब फेरि कहिल्यै शक्तिशाली हुनेछैनन् भन्ने सुनिश्चितता गर्दै सरकारले जोखिम क्षेत्रका विद्यालयलाई सुरक्षित ढंगले सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । त्यसपछि मात्र प्रत्येक बालबालिकाले राम्रो र निर्बाध शिक्षा प्राप्त गर्ने मौका पाउन सक्छन् ।
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार