प्रधानमन्त्री कार्की र इजरायली राजदूतबिच शिष्टाचार भेट

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्।

सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रूपमा इतिहास बनाएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरे।

प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलबिचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवैतर्फबाट प्रयास जारी राख्नुपर्ने बताइन्।

राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको बताए। हालै मात्र दुई मुलुकबिचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरू पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै उनले यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराए।

प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरूलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराइन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरिन्।

भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबिच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा केही थप महत्त्वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार