पान्दोलुङ मावि राष्ट्रपति रनिङ सिल्डको च्याम्पियन

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि पान्दोलुङ माध्यमिक विद्यालय नाल्बुले हात पारेको छ। १३ स्वर्ण, ६ रजत र सात कांस्य पदकसहित पान्दोलुङ समग्र च्याम्पियन बनेको हो।

प्रतियोगितामा सात स्वर्ण, सात रजत र चार कांस्य पदक जित्दै पृथ्वी मावि खाम्लुङ दोस्रो स्थानमा रहँदा ६ स्वर्ण, चार रजत र चार कांस्य पदकसहित लक्ष्मी मावि तेस्रो भयो। त्यस्तै, दुई स्वर्ण, तीन रजत र दुई कांस्य पदकसहित त्रिभुवन मावि थुकिमा चौथो स्थानमा रहँदा सूर्यदेवी मावि सान्थाक्राले एक स्वर्ण, ६ रजत र दुई कांस्य पदक जित्दै पाँचौँ स्थान हासिल गरेकाे छ।

सुर्के मावि थुकिमाले एक स्वर्ण, एक रजत र एक कांस्य पदकसहित छैटौँ स्थानमा आफ्नो नाम लेखायो भने सिंहकाली मावि स्वर्णविहीन रहँदै दुई रजत र दुई कांस्य पदकमा सीमित भयो। अन्तरविद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई आगामी अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारीका लागि मेरिङदेन गाउँपालिकाले बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा राख्ने जनाएको छ।

यस वर्षको १६औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुनेछ। प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल दुई सय दुई पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार माबाे (गणेश)ले जानकारी दिए।

सुझावित समाचार