जुम्लाबाट ६ वर्षमा ७९ प्रकारका एक हजार दुई सय ७७ टन जडीबुटी निर्यात भएको छ । कर्णालीमा प्रशोधन उद्योग नहुँदा ठुलो मात्रामा बहुमूल्य जडीबुटी कौडीको भाउमा निर्यात हुने गरेको स्थानीयको गुनासो छ । चालू आर्थिक वर्ष ०८२÷८३ मा सबैभन्दा बढी चार सय सात टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले बताए । उनका अनुसार कर्णालीको जीवनबुटी मानिने यार्सागुम्बा भने २१ किलो निर्यात भएको छ ।
त्यस्तै, अत्तिस ४५०, अमलबेद २५०, कालादाना २,०७०, कुटकी ३६४, चुत्रो २२ हजार, जटामासी २१ हजार, तितेपाती ४ हजार, ढटेलो दुई सय किलो निर्यात भएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी धुतिपान दुई सय ६८ टन निर्यात भएको छ । सुनपाती ५७ हजार, वनलसुन ४५०, सिलाजित ११ सय, पदमचाल १,२१० किलोसहित विभिन्न २५ प्रकारका जडीबुटी निर्यात भएको प्रमुख बुढ्थापाले जानकारी दिए । उनका अनुसार यस आवमा चार सय सात टन जडीबुटी निर्यात गदा ३८ लाख ५५ हजार पाँच सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ ।
कर्णालीबाट छिमेकी मुलुक चीन र भारतलगायतका देशमा जडीबुटी निर्यात भइरहेको छ । संघीयतापछि तीन तहका सरकारले जडीबुटीको प्रशोधनमा त्यति चासो नदिएको स्थानीयले बताएका छन् । जुम्लाकै पातारासीमा स्थापना भएको जडीबुटी प्रशोधन उद्योगमा समेत वर्षाँैदेखि ताला लागेको छ ।
उचित मूल्य र सरकारको प्रोत्साहनविना कर्णाली प्रदेशको जुम्लाबाट उत्साहजनक रूपमा जडीबुटी संकलन तथा निर्यात हुँदै आएको छ । जुम्लाबाट बितेको ६ वर्षमा आव ०७६÷७७ देखि आव ०८२÷८३ को हालसम्म एक हजार दुई सय ७७ टन जडीबुटी निर्यात भएको छ । यसबिचमा आव ०८०÷८१ मा भने जडीबुटी संकलनको अनुमति दिइएको थिएन । गत आव ०८१÷८२ मा मात्रै ६७.७५ टन जडीबुटी संकलन तथा निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाले बताए ।
त्यसैगरी, आव ०७६÷७७ मा १८५ टन, ०७७÷७८ मा २०२ टन, ०७८÷७९ मा २०१ टन, आव ०७९÷८० मा २०९ टन जडिबुटी निर्यात भएको कार्यालयले जनाएको छ । जडीबुटी निर्यात तथा काठ लिलामलगायत शीर्षकबाट पछिल्लो साढे ६ वर्षमा तीन करोड ३२ लाख राजस्व संकलन भएको तथ्यांक छ । चालू आव पाँच महिनामा ३८ लाख राजस्व संकलन भएको छ । गत आव ०८१÷८२ मा एक करोड ५८ लाख राजस्व संकलन भएको थियो । त्यसैगरी, आव ०७६÷७७ मा ३२ लाख, आव ०७७÷७८ मा २९ लाख ७४ हजार, आव ०७८÷७९ मा ३५ लाख ५८ हजार राजस्व संकलन भएको तथ्यांक छ ।