प्रेरक प्रसंग : चलाख सुझाव

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

जापानको एउटा निकै चर्चित साबुन कम्पनी आफ्नो गुणस्तर र विश्वस्तरीय ‘प्रोसेसिङ’का लागि परिचित थियो । उसको व्यापार पनि राम्रो चलिरहेको थियो । तर, अचानक कम्पनीसामु एउटा अनौठो समस्या आइलाग्यो । कम्पनीका एक ग्राहकले आफूले साबुनको कार्टुन खरिद गरेर लाँदा भित्र एउटा प्याकेट रित्तो भएको गुनासो गरे । कम्पनीका तर्फबाट गुनासोको छानबिन गर्दा गल्ती कम्पनीबाटै भएको पत्ता लाग्यो । प्याकेजिङ लाइनबाट डेलिभरी विभागमा पठाउँदै गर्दा एउटा प्याकेट खाली नै गएको थाहा भयो । 

घटनाले कम्पनीको निकै बदनामी गर्यो । व्यापारमै धक्का लाग्यो । आफ्नो गल्तीका लागि कम्पनीका अधिकारीहरू चिन्तित हुँदै तुरुन्तै एक उच्चस्तरीय बैठक बोलाइयो । त्रुटि कसरी भयो र भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिने विषयमा गहन छलफल भयो । लामो छलफलपछि प्याकेजिङ लाइनको अन्त्यमा एउटा ठुलो र शक्तिशाली एक्सरे मेसिन जडान गर्ने र त्यसको नियमन एक ठुलो मनिटरमार्फत कर्मचारीहरूले गर्ने निर्णय भयो । 

एक्सरे मेसिन जडानका लागि ठाउँ बनाउन सुरु भएपछि कम्पनीका तल्ला तहका कर्मचारी र मजदुरहरूले पनि यसबारे थाहा पाए । त्यसैक्रममा एकजना सामान्य कर्मचारीले नयाँ तरिका सुझाए, जसले गर्दा कम्पनीले महँगो मूल्यको एक्सरे मेसिन लगाउनु पनि परेन र अनुगमनका लागि ठुलो मनिटर र कर्मचारीको व्यवस्था पनि गर्नुपरेन । ती कर्मचारीको सुझाव अनुसार प्याकेजिङ लाइनमा एउटा शक्तिशाली पंखा जडान गरियो । अब साबुनको हरेक प्याकेटले पंखाको हावाको अगाडिबाट जाँदा खाली प्याकेट आएमा त्यसलाई हावाले उडाएर टाढा फ्याँकिदिन्थ्यो । अनि, खाली प्याकेट कार्टुनमा पर्नबाट जोगिन्थ्यो ।

सुझावित समाचार