भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको रौनक सुरु भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन आइतबार अपराह्नबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ । सोमबार बिहानसम्म सुरु हुने बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ ।
आठ दशकको कांग्रेस जीवनमा विशेष महाधिवेशन हुन लागेको यो दोस्रोपटक हो । यसअघि ०१४ मा विराटनगरमा विशेष महाधिवेशन गरी बिपी कोइराला सभापति निर्वाचित भएका थिए । दोस्रो विशेष महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ । कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेटसँगैका स्टलहरूमा अहिले धमाधम नामावली दर्ता भइरहेको छ।








