साढे १३ अर्ब नाफा कमाएको आयल निगमले आइपिओ ल्याउने

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८१/८२ मा साढे १३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले सर्वसाधारणलाई प्राथमिक सेयर दिने तयारी थालेको छ । सरकारी स्वामित्वको निगमलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरेर आइपिओ जारी गर्ने तयारी गरिएको हो ।

निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले आइपिओ जारी गर्ने विषयमा अध्ययन भइरहेको बताए । शनिबार काठमाडौंमा आयोजित निगमको ५६औँ वार्षिकोत्सवमा आर्थिक सफलता र भावी योजनाका विषयमा बोल्दै उनले आर्थिक रूपमा सबल बन्दै गएको कम्पनीले हिस्सेदार सर्वसाधारणलाई समेत बनाउने योजना उनले सुनाएका हुन् ।

कार्यकारी निर्देशक भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले तीन खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको छ । यस अवधिमा निगमले १३ अर्ब ६७ करोड खुद नाफा कमाएको उनले बताए । निगमले एक खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको छ । ०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगमको इतिहासमा सबैभन्दा महत्वपूर्ण कोसेढुंगा साबित भएको र यसैका कारण निगम आर्थिक रूपमा मजबुत बनेको कार्यकारी निर्देशक भट्टले बताए । 

सुरक्षा जोखिममा रहेका सिनामंगल, भैरहवा र धनगढीका डिपोहरू स्थानान्तरण गरिने उनले बताए । कर्णालीमा नयाँ डिपो निर्माणको प्रक्रिया सुरु गरिएको छ । दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोलपम्प खोलेर बोतलको महँगो इन्धन किन्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको उनले बताए । 

सिलगुडी–चारआली र मोतीहारी–सर्लाही पाइपलाइन अघि बढ्दै 
निगमले पछिल्ला वर्षमा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएको छ । मोतीहारी–अमलेखगन्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगन्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारगृह सञ्चालनमा आइसकेको छ । यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर दुई रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको डा. भट्टको भनाइ छ । यसैगरी, पोखरामा तीन हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारगृह निर्माण सम्पन्न भएको छ । ‘प्रविधितर्फ निगमले अमलेखगन्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याएको छ,’ उनले भने, ‘इआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप घटाएको छ ।’ पूर्वाधारतर्फ सिलगुडी–चारआली र मोतीहारी–सर्लाही एलपिजी पाइपलाइन निर्माणका लागि भारतीय पक्षसँग छलफल अघि बढाइएको कार्यकारी निर्देशक भट्टले बताए ।

क्लिन इनर्जीको व्यापारमा लाग्ने योजना
निगमले परम्परागत इन्धनको व्यापारका साथै क्लिन इनर्जीमा समेत हात हाल्ने भएको छ । निगमले अब परम्परागत इन्धनको व्यापारबाट माथि उठेर क्लिन इनर्जी र विविधीकरणतर्फ लाग्ने योजना बनाएको उनले बताए । ‘यसअन्तर्गत पेट्रोलमा इथानोल मिसाउने सरकारको नीतिलाई यसै वर्षदेखि कार्यान्वयनमा लगिनेछ भने काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यवसायीकरण गरी सन् २०४५ सम्मको शून्य कार्बन उत्सर्जनको लक्ष्यमा सघाउ पुर्याइनेछ,’ उनले भने ।

सेवा प्रवाहमा सुधार ल्याउन मन्त्री सिन्हाको निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सेवा प्रवाहमा सुधार ल्याउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । शनिबार आयोजित निगमको ५६औँ वार्षिक उत्सवमा बोल्दै उनले सेवा प्रवाह र संस्थागत विकासमा सुधार गर्न निर्देशन दिएका हुन् । 

उनले पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने उल्लेख गर्दै निगमलाई सबल, प्रतिस्पर्धी र व्यावसायिक बन्न आग्रह गरे । निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले पेट्रोलियम पदार्थको आपूर्ति चुस्त बनाउनुपर्ने बताए । उनले समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपुण हुनुपर्ने बताए । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले एलपी ग्यासमा अपेक्षित सुधार हुन नसकेको बताए । उनले एलपी ग्यासमा ठुलो रकम खर्च भइरहेको उल्लेख गर्दै सिमरामा भण्डारण गरी पाइपलाइनमार्फत ल्याउनुपर्ने धारणा राखे ।

See More On

सुझावित समाचार