पर्सा जिल्ला खेलकुद विकास समितिले १०औँ राष्ट्रिय खेलकुद तथा खेल विकास विस्तारको लागि मधेश प्रदेश खेलकुद परिषद्को निर्देशनअनुसार सार्वजनिक सूचना जारी गरेको छ। संघकाे कार्यालय प्रमुख नाजिर हुसेन अन्सारीले पुस २५ को मितिमा जारी गरेको सूचनाअनुसार सक्रिय रहेका स्वंयसेवक प्रशिक्षक प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्णायकहरूको प्रमाण-पत्रसहित कार्यालयमा सम्पर्क गर्न भनिएको हो।
मधेश खेलकुद परिषद्को निर्देशनअनुसार तालिम तथा प्रशिक्षण विभागले जिल्ला खेल संघ विधाका स्वयंसेवक प्रशिक्षक प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्णायकहरूको तथ्यांक तयार गर्न सूचना जारी गरेको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साहले जानकारी दिए।
उनका अनुसार आगामी माघ २२ गतेसम्ममा पर्सा जिल्ला खेलकुद विकास समितिमा सक्रिय रहेका स्वंयसेवक प्रशिक्षक, प्रदेश राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्णायकहरूको नामावली र त्यसको प्रमाणपत्रसहित सम्पर्क गर्न आग्रह गरिएको हो।
यस्तै, मधेश खेलकुद परिषद्को खाता अहिलेसम्म नखुलेपछि आर्थिक कारोबार, विकासको विभिन्न योजना अगाडि बढाउन समस्या भएको अध्यक्ष साहले गुनासो गरे। उनले मधेश खेलकुद परिषद् गठन भएकै समयदेखि खाता नखोलिएकाले यसमा गम्भीरता देखाउन सम्बन्धित पक्षलाई आग्रह गरे।