होमनाथ दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव, तीन दिन झन्डा आधा झुकाइने

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै केन्द्रीय कार्यसमिति बैठकबाट शोक प्रस्ताव पारित गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले ८४ वर्षीय दाहालको शुक्रबार काठमाडौंमा भएको निधनले पार्टीका लागि अपूरणीय क्षति भएको ठहर गरेको छ।

दाहाल पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व हुन्। उनी नेपाल पत्रकार महासंघका पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्षका रूपमा क्रियाशील थिए।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दाहालले पटक–पटक कारावाससमेत भोगेका थिए। २०५६ सालको आमनिर्वाचनमा उनी ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

केन्द्रीय कार्यसमितिले दाहालले पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनको निधनले कांग्रेसले एक अनुभवी, निष्ठावान र समर्पित नेता गुमाएको निष्कर्ष निकालेको छ।

स्वर्गीय दाहालप्रति सम्मान प्रकट गर्दै कांग्रेसले विभिन्न शोक कार्यक्रम सार्वजनिक गरेको छ। निर्णयअनुसार पुस २६, २७ र २८ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ। पुस २७ गते केन्द्रदेखि जिल्लासम्मका सबै पार्टी कार्यालयहरू बन्द रहनेछन्।

यसका साथै, १३ दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोकपुस्तिका राखिने र १३औँ दिन ओखलढुंगा जिल्लामा शोकसभा आयोजना गरिने जनाइएको छ।

सुझावित समाचार