- विशेष कि नियमित महाधिवेशनबारे संस्थापन पक्ष र महामन्त्रीद्वयका आ–आफ्ना तयारी, अडान र पार्टीभित्र प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाले आन्तरिक शक्ति परीक्षण सहमतिसहित एकीकृत पार्टीमै रहने वा विभाजनतर्फ धकेलिने भन्ने अनिश्चित
- २७–२८ पुसमा महामन्त्रीद्वय पक्ष विशेष महाधिवेशनको तयारीमा जुट्दा संस्थापनले २७ पुसमा युवा र २८ पुसमा जिल्ला सभापतिहरूको भेला बोलाएको छ
वैशाखमा नियमित महाधिवेशन कि २७–२८ पुसमा विशेष महाधिवेशन भन्ने विषय कांग्रेसको आन्तरिक शक्ति परीक्षणतर्फ प्रवेश गरेको छ । संस्थापन पक्ष र महामन्त्रीद्वयबिचका आ–आफ्ना तयारी, अडान र पार्टीभित्र प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाले कांग्रेसभित्रको शक्ति परीक्षण चुनावपूर्व सहमतिसहित एकीकृत पार्टीमै टुंगिने हो कि विभाजनतर्फ धकेलिने हो भन्नेमा अनिश्चितता बढाएको छ । नियमित वा विशेष महाधिवेशनको मुद्दाले पार्टीको तल्लो तहसम्म कठोर गुटबन्दी सुरु गरिसके पनि दुवै पक्षको औपचारिक भनाइ भने एउटै छ, ‘पार्टी विभाजन हुँदैन ।’
विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदै छ । पक्षधरहरूले महाधिवेशनको भौतिक र राजनीतिक तयारी अन्तिम चरणमा पुर्याइसकेका छन् । महाधिवेशन रोक्न संस्थापन पक्षले गरेको प्रयास सफल हुन सकेन भने दुवै पक्षबिच सार्थक संवाद पनि हुन सकेको छैन ।
विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू जिल्ला–जिल्लाबाट काठमाडौं आउने क्रम सुरु भएको छ । कुल चार हजार ७२३ जना महाधिवेशन प्रतिनिधिमध्ये २६ सयभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागी हुने जानकारी दिएको पक्षधर नेताको दाबी छ । ‘हस्ताक्षर गरेका दुई हजार ४८८ जनामध्ये पछिल्लोपटक १२५ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । तर, २५० देखि तीन सयजना थपिएका पनि छन्,’ महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने ।
बहुमत संख्या पुगेको अवस्थामा विशेष महाधिवेशनले नियमित महाधिवेशनले गर्ने सबै कार्य गर्ने उनको भनाइ थियो । ‘बन्दसत्र सुरु भएपछि हलले कार्यविधि बनाउँछ, त्यसपछि राजनीतिक, सांगठनिक प्रतिवेदन, विधान संशोधन र अबको कार्यदिशालगायत विषयमा प्रस्ताव पेस हुन्छ । त्यसपछि नेतृत्व चयनमा प्रवेश गरिन्छ,’ शिवाकोटीले भने ।
विशेष महाधिवेशनको सभापतित्व काठमाडौं कांग्रेसका सभापतिले गर्ने तय भएको छ । ‘शनिबारसम्म विशेष महाधिवेशनको एजेन्डा र तयारी केन्द्रीय समितिले स्वामित्व ग्रहण नगरे समारोहको प्रमुख अतिथि भइदिन अनुरोध गर्दै शनिबारै सभापति देउवाकहाँ चिठी पुग्छ,’ शिवाकोटीले भने । भृकुटीमण्डपको सभाका लागि एउटा इभेन्ट कम्पनीलाई जिम्मा दिइसकिएको छ । विशेष महाधिवेशनको आर्थिक पाटोको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले समन्वय गरेका छन् ।
सहमतिका लागि चरणबद्ध छलफल भए पनि शुक्रबार साँझसम्म निष्कर्षमा पुग्न नसकेको शिवाकोटीले बताए । सभापति देउवाले यसबिचमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छैनन् । उनले महामन्त्रीद्वयसँग छलफलका लागि कार्यवाहक सभापति खड्का र रमेश लेखकलाई जिम्मा लगाएका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने कार्यवाहक सभापतिले सबैसँग छलफल गरिरहेको बताए । ‘सभापतिले कुरा गरेर वा उहाँसँग कुरा भएर अहिले सहमति निस्कने सम्भावना छैन, किनभने महामन्त्रीहरू आफ्नो अडानबाट पछि हट्नुभएको छैन,’ महतले भने । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले पूर्वघोषित रणनीतिक योजनाअनुसार विशेष महाधिवेशनको परिस्थिति बनाएको संस्थापन पक्षको विश्लेषण छ । महतले सहमतिका लागि धेरै प्रयास भइरहेको, तर महामन्त्रीद्वयको जिद्दीका कारण सहमति नभएको आरोप लगाए ।
२७–२८ पुसमा संस्थापनका दुई कार्यक्रम
महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएकै दिन संस्थापनले पनि कार्यक्रम तय गरेको छ । संस्थापन पक्षका युवाले २७ पुसमा काठमाडौंमा भेला बोलाएका छन् । यस्तै, २८ पुसमा संस्थापन पक्षनिकट जिल्ला सभापतिहरूको भेला काठमाडौंमा आह्वान गरिएको छ । शुक्रबारै संस्थापन पक्षनिकटका नेताहरू कृष्णप्रसाद सिटौला, एनपी साउद, बालकृष्ण खाण, रामहरि खतिवडा, नैनसिंह महरलगायतको बैठक बसेको थियो । खतिवडाले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्न महामन्त्रीद्वयलाई तयार गराउन सकिएमा कार्यक्रममा कार्यवाहक सभापतति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला सहभागी हुन सक्ने र पार्टी फुटबाट जोगिन सक्ने बताए । सिटौला, साउद, खाणलगायतले भने विशेष महाधिवेशनलाई स्वीकार गर्न नसकिने र उनीहरू पछि हट्नुपर्ने धारणा राखेका थिए । संस्थापनको तयारीलाई महामन्त्री विश्वप्रकाश शर्माले अन्यथा लिन नहुने प्रतिक्रिया दिए । ‘२७ गते एउटाले बर्थडे मनाउँदै गर्दा अर्काको बिहे हुन सक्छ,’ उनले भने, ‘कसैको लोकतान्त्रिक हकका बारेमा अनादर गर्न जरुरी छैन ।’
३० केन्द्रीय सदस्यको अपिल : संस्थापनका नेताहरूको बेग्लै बैठक
२१ फागुनको निर्वाचनपूर्व नियमित महाधिवेशन हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएका संस्थापननिकट ३० केन्द्रीय सदस्यले शुक्रबार विज्ञप्ति जारी गरी विशेष महाधिवेशन मागकर्ताको मतको सम्मान गर्न र संवादका आधारमा अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । केन्द्रीय सदस्य राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, आङगेलु शेर्पा, उदयशमशेर राणा, गणेश लामा, डिला संग्रौला, नानु बास्तोला, धना खतिवडा, अब्दुल रजाक, कर्णबहादुर बुढा, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, रामजनम चौधरी, जिपछिरिङ लामा, चम्पादेवी कार्की, चिनकाजी श्रेष्ठलगायतले विज्ञप्ति जारी गरेका छन् । ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अत: माग गर्ने प्रतिनिधिको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ,’ उनीहरूको अपिलमा भनिएको छ ।
पार्टी विभाजनउन्मुख हुँदा देउवा किन मौन ?

- महामन्त्री थापा र शर्मा पार्टी फुटाउने अभिप्रायबाट प्रेरित रहेको सभापति देउवाको बुझाइ
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग यसबिचमा संवाद गरेका छैनन् । देउवाले १८ पुसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, पार्टीका आफूनिकटस्थ पूर्वपदाधिकारी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नेताहरू रमेश लेखक, एनपी साउद, बालकृष्ण खाणसँग भेटिरहेका छन् । तर, केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अस्वीकार गर्दै विशेष महाधिवेशनका पक्षमा उभिएका महामन्त्रीद्वय थापा र शर्मासँग संवादको पहल गरेनन् । देउवाले विशेष महाधिवेशनबाट पार्टी फुट्ने भन्दै यसलाई रोक्नुपर्ने बताउँदै आएका छन् ।
देउवाले शुक्रबार मात्रै नेपाल विद्यार्थी संघका संस्थापनपक्षीय एक दर्जन नेतालाई निवासमा बोलाएर भेटेका थिए । जहाँ देउवाले पार्टी फुट्दैन, म मिलाउँछु भनेका थिए । यसबिचमा देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेतासँग भेट गरे, तर महामन्त्रीद्वय थापा र शर्मा एवं विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसेलगायतसँग भेट गरेनन् ।
उनीनिकट कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीहरू विशेष महाधिवेशनको एजेन्डाबाट पछि हट्न तयार नभएपछि सभापति देउवाले उनीहरूसँग भेटेर छलफल गर्नुको औचित्य नभएको टिप्पणी गरे । ‘उहाँहरू विशेष महाधिवेशनको हठबाट पछि हट्नुहुन्न । उहाँहरूसँग छलफल गरेर सहमति नहुने अवस्थामा भेटका लागि भेटको के अर्थ हुन्छ ?’ महतले भने, ‘तर, उहाँ सहमति होस्, पार्टीमा एकताको अवस्था होस् भन्नेमा चिन्तित हुनुहुन्छ । कार्यवाहक सभापति खड्काले उहाँहरूसँग छलफल–संवाद गरिरहनुभएको छ र कार्यवाहक सभापतिले सभापतिलाई रिपोर्टिङ गरिरहनुभएको छ ।’
निकटस्थ स्रोतका अनुसार महामन्त्री थापा र शर्मा पार्टी फुटाउने अभिप्रायबाट प्रेरित रहेको सभापति देउवाको बुझाइ छ । पार्टीका पूर्वपदाधिकारी सिटौला, निधि, महत, प्रकाशमान सिंह, शशांक कोइरालालगायतले देउवालाई प्रभावित पार्दै आएका छन् । शुक्रबार पनि सिटौला, एनपी साउद, बालकृष्ण खाणलगायतको अगुवाइमा संस्थापनपक्षीय केन्द्रीय सदस्यहरूको छलफल भएको थियो । उनीहरूले कुनै पनि हालतमा विशेष महाधिवेशन पक्षधरसँग सहमति गर्नु नहुनेमा जोड दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
जिल्ला सभापतिहरूको ध्रुवीकरण
- विशेष महाधिवेशनलाई लिएर कांग्रेसका जिल्ला सभापतिहरू विभाजित, विशेष महाधिवेशनमा नजान प्रतिनिधिमाथि संस्थापन पक्षको दबाब
कोशीमा उदयपुर, धनकुटा र तेह्रथुमका सभापति पक्षमा, झापा विपक्षमा
१४ जिल्ला रहेको कोशी प्रदेशमा उदयपुर, धनकुटा र तेह्रथुमका जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । झापा सभापति भने विपक्षमा छन् । सभापतिहरू धनकुटाका दिनेश राई, उदयपुरका हिमाल कार्की, तेह्रथुमका अर्जुनबहादुर तुम्बाहाम्फेले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । पाँचथरका सभापति रूपनारायण जवेगू भने विशेष महाधिवेशनको विपक्षमा छन् । तर, उपसभापति डिकेन्द्र चेम्जोङ, बृजहाङ आङ्देम्बे, सचिव दीपक नेपाल र सहसचिव गजेन्द्र राईले विज्ञप्ति जारी गर्दै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टी नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनमा सहभागी बन्न आग्रह गरेका हुन् । झापा सभापति देउकुमार थेपेले विज्ञप्ति जारी गर्दै पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य स्वत: समाप्त भएको जनाएका छन् । अन्य जिल्लाका सभापति भने खुलेका छैनन् ।
मधेशका जिल्ला सभापतिहरूको विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह
मधेश प्रदेशका आठवटै जिल्लाका कांग्रेस सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि महाधिवेशन वा विशेष महाधिवेशनमा सहभागी नहुन सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन् । आठै जिल्लाका सभापतिले आ–आफ्ना जिल्लाका पार्टी लेटरप्याडमा अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानविपरीत हुने गतिविधिमा सहभागिता जनाउन नहुने स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको उल्लेख गरिएको छ । कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ । विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यलाई पार्टीको निर्णय, नीति र अनुशासनको पालना गर्न आह्वान गरिएको छ । यसरी विज्ञप्ति जारी गर्नेमा सभापतिहरू महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव साह, सर्लाहीका डा. सरोजकुमार यादव, बाराका राजेश राय यादव, सिराहाका रामचन्द्र यादव, रौतहटका सुनीलकुमार यादव, पर्साका जनार्दनसिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियार छन् ।
कांग्रेस विधानअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबराबर २५ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । सोही आधारमा मधेश प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब आठ सय महाधिवेशन प्रतिनिधि छन् ।
पार्टी संस्थापन पक्षको दबाबका कारण मधेश प्रदेशका कुनै पनि जिल्लाका सभापति महाधिवेशनको पक्षमा खुलेर नआएको बताइन्छ । तर, महाधिवेशनको पक्षमा रहेका नेताहरूले मधेशका ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दाबी गरेका छन् । महाधिवेशनको पक्षमा रहेका नेताहरूले मधेश प्रदेशबाट कुल आठ सयमध्ये ४२० जना प्रतिनिधिले समर्थनमा हस्ताक्षर गरेको दाबी गरेका छन् । उनीहरूका अनुसार सप्तरीमा ४०, सिराहामा ५५, धनुषामा २५, महोत्तरीमा ५३, सर्लाहीमा ७१, रौतहटमा ७०, बारामा ७२ र पर्सामा ३४ जना विशेष महाधिवेशनको पक्षमा छन् । कांग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले मधेशका आठवटै जिल्लाका सभापति पार्टीको निर्णय र विधानसँगै रहेको दाबी गरेका छन् ।
बागमतीका चार जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुले, पाँच मौन
बागमतीका १३ मध्ये चार जिल्लाका कांग्रेस सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकका तीर्थ लामा, रसुवाका पेम्बा छिरिङ तामाङ र सिन्धुपाल्चोकका जंगबहादुर लामाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई आह्वान गरेका छन् । नुवाकोटका उपसभापति राजु थापाले पनि विशेष महाधिवेशनका लागि आह्वान गरेका छन्, तर सभापति रमेश महत भने संस्थापन पक्षतिर छन् । त्यस्तै, चितवन सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाविनाको विशेष महाधिवेशनमा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन् । सिन्धुली, रामेछाप, मकवानपुर, दोलखा, धादिङका जिल्ला सभापति भने यस विषयमा मौन देखिएका छन् ।
गण्डकीका तीन जिल्ला सभापतिको महाधिवेशनको पक्षमा अपिल
आइतबारका लागि तय विशेष महाधिवेशनमा सहभागिताका लागि गण्डकीका ११ मध्ये तीन जिल्ला सभापतिले अपिल जारी गरेका छन् । कास्की, गोरखा र पर्वत जिल्लाले सार्वजनिक अपिल जारी गरेका हुन् । गण्डकीका ११ जिल्लामध्ये तनहुँका ५२ मध्ये २५, स्याङ्जाका ५२ मध्ये २६, लमजुङका २६ मध्ये २३, कास्कीमा ७८ मध्ये ४७, मनाङका २६ मध्ये चार, पर्वतका २६ मध्ये २०, बागलुङका ५२ मध्ये ३१, म्याग्दीका २६ मध्ये १३, नवलपुरका ५२ मध्ये ३६, मुस्ताङका २६ मध्ये तीन, गोरखाका ५२ मध्ये ४१ जनाले यसअघि नै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । महाधिवेशनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २६ जना चयन हुने प्रावधान छ । गण्डकीमा प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्र छन् ।
लुम्बिनीमा विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि सहभागी हुने दाबी
कांग्रेस विशेष महाधिवेशनमा लुम्बिनी प्रदेशबाट बहुमत प्रतिनिधिको सहभागिता हुने दाबी गरिएको छ । प्रदेशका १२ मध्ये आठ जिल्लाका सभापतिसहित बहुमत प्रतिनिधिको सहभागिता हुने कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले बताए । सभापतिहरू अर्घाखाँचीका अच्युत गौतम, गुल्मीका खिलध्वज पन्थी र पाल्पाका हिमालदत्त श्रेष्ठले विज्ञप्ति नै जारी गरेर सक्रिय सहभागिताका लागि अपिल गरेका छन् । यस्तै, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, रोल्पा, रुकुम पूर्व र प्युठानका सभापतिसहितका बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता हुने पुनको दाबी छ । त्यस्तै, रुपन्देहीबाट चारजना क्षेत्रीय सभापतिसहितका प्रतिनिधिको सहभागिता हुनेछ । कपिलवस्तुबाट एकजना क्षेत्रीय सभापति, दाङबाट दुई र बर्दियाबाट एकजना क्षेत्रीय सभापतिसहितका महाधिवेशन प्रतिनिधिको सहभागिता हुने पनि प्रदेश सभापति पुनले बताए ।
पश्चिम नवलपरासीमा (५० जना महाधिवेशन प्रतिनिधिमध्ये) जिल्ला सभापति अर्जुनकुमार पोख्रेलसहित ६७ प्रतिशतले पक्षमा हस्ताक्षर गरेका थिए । जिल्ला सभापति बिरामी परेकाले महाधिवेशनमा जान सक्ने सम्भावना कम रहे पनि २९–३० जना महाधिवेशन प्रतिनिधि काठमाडौं जाने तयारीमा रहेको कांग्रेस जिल्ला प्रवक्ता राधेश्याम पाठकले बताए । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले भने पार्टीलाई बलियो बनाउन नियमित अधिवेशन उचित हुने बताए ।
कर्णालीमा १० मध्ये सल्यानका सभापति विशेष महाधिवेशनको पक्षमा
कर्णाली प्रदेशका १० मध्ये सल्यानका जिल्लाका सभापति केशवबहादुर विष्ट विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । उनले विशेष महाधिवेशनमा सहभागी हुन भन्दै विज्ञप्ति जारी गरेका छन् । यद्यपि, सल्यानका उपसभापति सन्तोष केसीले भने विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ति निकालेका छन् । शुक्रबार जिल्ला सभापतिहरू सुर्खेतका खड्गबहादुर पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली र डोल्पाका (कार्यवाहक) लवकुमार शाहीले संयुक्त विज्ञप्ति निकालेर महाधिवेशनमा सहभागी नहुन भनेका छन् । त्यस्तै, कालीकोटका सभापति अम्मबहादुर शाहीले पनि छुट्टै विज्ञप्ति निकालेर आफू नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन् ।
सुदूरपश्चिमका ६ जिल्लाका सभापति विशेष महाधिवेशनको विपक्षमा
सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेसका नौमध्ये ६ जिल्लाका सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । जिल्ला सभापतिहरू बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, डडेल्धुराका भीमबहादुर साउद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी विशेष महाधिवेशनमा सहभागी नहुन महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका हुन् । बाजुरा, बैतडी र दार्चुला जिल्ला सभापति भने संस्थापनइतर छन् ।
सुदूरपश्चिमबाट ३५–४० प्रतिशतहाराहारी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने विशेष महाधिवेशन पक्षधरले दाबी गरेको छ । महाधिवेशनका लागि काठमाडौं पुगेका कांग्रेस कैलालीका नेता भीम बडुवालले सुदूरपश्चिमका जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं पुग्न थालेको बताए । ‘सुदूरपश्चिमबाट करिब ३४ प्रतिशतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए, सहभागी संख्या ४० प्रतिशत पुग्ने आकलन गरेका छौँ,’ उनले भने । प्रदेशभरि ४१६ जना महाधिवेशन प्रतिनिधि छन् । नेता बडुवालका अनुसार कैलालीका १२५ मध्ये ३५ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुँदै छन् । विशेष महाधिवेशन पक्षधर अर्का नेता लोकराज पाण्डेयले सुदूरपश्चिमका सबैजसो जिल्लाबाट महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका लागि गइरहेको बताए । ‘माहोल हेरेर पनि सहभागिता संख्या अझ बढ्छ,’ उनले भने ।
(जिल्ला ब्युरोको सहयोगमा)