नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागिरहेको विशेष महाधिवेशनमा जिल्ला संस्थापनले सहभागी नहुन ह्विप जारी गरेको भए पनि जिल्ला कार्यसमितिकै बहुमत पदाधिकारीहरू सहभागी हुने भएका छन् ।
पार्टीको प्रदेश र जिल्ला कार्यसमितिहरूले २७ र २८ पुसमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी नहुन ह्विप जारी गरेको भए पनि सिराहा घर भएका प्रदेश महामन्त्री उपेन्द्र यादवसहित महाधिवेशनमा सहभागी हुने भएका हुन् ।
सिराहा कांग्रेसका जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार विधानबमोजिम महाधिवेशन प्रतिनिधि रहेका आफूसहित ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति सञ्जीव उपाध्याय, जिल्ला उपसभापति सुनीलकुमार महतो, सहसचिव रामबाबु यादव, पूर्वजिल्ला उपसभापति रामसुन्दर चौधरीलगायतका पदाधिकारीहरू विशेष महाधिवेशनमा भाग लिँदै छन् ।
जिल्लाको चारवटा संघीय निर्वाचन क्षेत्रमा २५–२५ जनाको दरले एक सय र समावेशिताको आधारमा जातीय क्लस्टरबाट तीन गरी कुल १०३ जना महाधिवेशन प्रतिनिधि रहेको सिराहाको क्षेत्र नम्बर १ बाट १९ जना, २ बाट १२ जना, ३ बाट २४ जना र ४ बाट १९ जना गरी कुल ७४ जना विशेष महाधिवेशनको पक्षमा खुलेको उनले बताए । ‘त्यसरी खुलेकाहरू क्षेत्रगत रूपमा काठमाडौं गइसकेको र केही जाने क्रममा छन्,’ उनले भने ।
जिल्ला सभापति रामचन्द्र यादवले महामन्त्रीद्वयले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुन ह्विप जारी गरेको जानकारी दिँदै त्यसको बाबजुद जिल्लाबाट को–को सहभागी हुन गएका छन् वा हुन्छन् भन्ने कुरा पछि छलफलको विषय बन्ने बताए ।