आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्साले जिल्लाको मतदाता नामावली सार्वजनिक गरेको छ। कार्यालयले जिल्लाको चारवटै निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्र संख्या र मतदानस्थल संख्यासहितको जानकारी सार्वजनिक गरेको हो।
मतदाता नामावलीअनुसार पर्सामा कुल तीन लाख ७६ हजार ५१३ मतदाता छन्। यसअघि ०७९ को निर्वाचनमा जिल्लामा कुल तीन लाख ५२ हजार ४८४ मतदाता रहेकामा २४ हजार २९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले जानकारी दिइन्।
रौनियारका अनुसार यसपटक पर्सामा महिला एक लाख ६४ हजार ४२१ र पुरुष दुई लाख १२ हजार ७७ र ‘अन्य’ मतदाता संख्या १५ रहेको छ। जिल्लामा ४४१ मतदान केन्द्र र १६७ मतदातस्थल छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८९ हजार ६३८ मतदाता, ३४ मतदानस्थल र १०३ मतदान केन्द्र छन्। ‘अन्य’ लिंगी मतदाता दुईजना छन्। क्षेत्र नम्बर २ मा कुल ९५ हजार १२० मतदाता, ३८ मतदानस्थल र ११० मतदान केन्द्र छन्। तीन ‘अन्य’ लिंगी मतदाता छन्।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा ९६ हजार ५४२ कुल मतदाता रहँदा ४७ मतदानस्थल र ११४ मतदान केन्द्र छन्। चारजना ‘अन्य’ लिंगी मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर ४ मा कुल ९५ हजार २१३ मतदाता (६ अन्य लिंगी), ४८ मतदानस्थल र ११४ मतदान केन्द्र छन्।