बर्दिया अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ९६ अंक ल्याएको छ । बिहीबार अस्पतालको मूल्यांकन गर्न आएको अनुगमन समितिले न्यूनतम सेवा मापदण्डमा ९६ अंक ल्याएको जनाएको हो । सरकारले लागू गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा लागू गरेको छ । अस्पतालले दिनुपर्ने न्यूनतम सेवाको अवस्था कस्तो छ । अस्पतालको सेवा, अस्पतालको पारदर्शिता, फोहाेर व्यवस्थापन, अस्पतालले औषधि व्यवस्था कसरी गरेको छ लगायतमा बारेमा अनुगमन समितिले मूल्यांकन गरेको थियो ।
अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहाेरमैला व्यवस्थापनलगायतका सूचकलाई आधार मानेर तोकिएको सूचकअनुसार मूल्यांकन गरी अस्पतालले ९६ अंक प्राप्त गरेको अनुगमन समितिका स्रोतव्यक्ति वरिष्ठ कन्सल्टेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए । उनले भने, ‘अस्पतालमा रहेको जनशक्तिमा अझै विशेषज्ञ चिकित्सक थप्नुपर्ने र आइसियू र एचडियू सञ्चालन गर्न सके अस्पतालले दिने सेवा अझै प्रभावकारी हुन सक्नेछ । सरकारले पनि यसका लागि जनशक्ति र बजेट व्यवस्थापन नगर्नुपर्ने देखिएको छ ।’
बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले अस्पतालमा प्रतिवर्ष एक लाखभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको भए पनि अस्पतालमा बिरामीलाई जाँच्ने ओपिडी भवन र विशेषज्ञ डाक्टर नबस्ने समस्या रहेको बताए । उनले भने, ‘अस्पतालमा विशेषज्ञ चिकित्सक भए पनि स्रोतसाधनको अभावले गर्दा कतिपय सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन।’
अस्पताल विकास समितका अध्यक्ष रवीन्द्रकुमार यादवले न्यूनतम सेवा मापदण्ड अस्पताल लुम्बिनी प्रदेशमा उत्कृष्ट भए पनि अस्पताललाई सरकारले नहेरेको गुनासो गरे । उनले भने, ‘अस्पतालमा स्रोतसाधन अभाव हुँदा कतिपय बिरामी अप्रेसन गर्न बाहिर जानुपर्ने बाध्यता छ । अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको हुँदा प्रदेश सरकारले पनि अस्पताललाई पहिलो प्राथमिकता दिनुपर्छ ।’