एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : अवार्डबापतको रकम दुई संस्थालाई

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

२२औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०८१ अन्तर्गत ‘स्पेसल अवार्ड’बाट सम्मानित तुल्सीकुमार गुरुङले अवार्डसँगै प्राप्त नगद दुई संस्थालाई सहयोग गरेका छन्।

गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट तेक्वान्दोमा नवौँ डान प्राप्त गरेका गुरुङले अवार्डसँगै प्राप्त गरेको नगद एक लाख सहारा क्लब पोखरा र एलजी एसोसियसनलाई समान ५०-५० हजार प्रदान गरेका हुन्।

तेक्वान्दोमा उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् । उनी हाल हङकङलाई कर्मथलो बनाउँदै आएका छन् । करिब तीन दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिएका उनी सन् २०१३ मा हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। 

अवार्डबापत प्राप्त रकम सहारालाई आहा–रारा पोखरा गोल्डकपका लागि र पहिलोपटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजीलाई लिगका लागि हस्तान्तरण गरेका हुन्।

बुधबार सम्मानित भएका उनले सहयोग रकम बिहीबार सहाराका अध्यक्ष केशबबहादुर थापा र एलजीका अध्यक्ष डम्बरजङ गुरुङलाई हस्तान्तरण गरेका हुन्।

पोखरामा फुटबल खेलको विकास र विस्तारका लागि दुवै संस्थाले खेलेको भूमिकाको कदर गर्दै सहयोग प्रदान गरेको गुरुङले बताए। फुटबल खेलमार्फत पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी काम गर्न र सोहीअनुसारको भूमिका खेल्न दुवै संस्थालाई उनले शुभकामनासमेत दिएका छन्। 
 

सुझावित समाचार