क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कराँतेकी एरिका गुरुङ २२औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा वर्ष २०८१ का उत्कृष्ट खेलाडी बनेका छन् । पोखरामा बुधबार भएको कार्यक्रममा दीपेन्द्रसिंह पुरुषतर्फ तथा एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रसिंहले पहिलोपटक अवार्ड जित्दा एरिका लगातार दोस्रोपटक वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी छिन् । दुवै उत्कृष्ट खेलाडीले पल्सर बाइक पाएका छन् ।
स्पोर्टस् अवार्डमा महिलातर्फ दुईपटक वर्ष उत्कृष्ट खेलाडी बन्ने एरिका चौथो खेलाडी बनेकी छिन् । लगातार अवार्ड जित्ने इतिहास उनले रचेकी छिन् । महिलातर्फ तेक्वान्दोकी संगिना वैद्य, कराँतेकी गंगा अधिकारी र फुटबलकी सावित्रा भण्डारीले दुई–दुईपटक अवार्ड हात पारेका छन् । समग्र अवार्डको इतिहासमा क्रिकेटका पूर्वकप्तान पारस खड्का सर्वाधिक विजेता हुन् । ‘पहिलोपटक वर्ष उत्कृष्ट पुरुष खेलाडी हुँदा खुसी लागेको छ, यसले आगामी दिनमा थप उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ,’ अवार्ड जितेपछि दीपेन्द्रसिंहले भने ।
उपाधि रक्षा गरेकी एरिकाले सबैको सहयोगका कारण उत्कृष्ट बन्न सफल भएको बताइन् । ‘दोस्रोपटक उपाधि जित्दा नौलो अनुभव भएको छ,’ उनले भनिन्, ‘अवार्डमा मनोनीत हुनु नै ठुलो पक्ष थियो । त्यसमाथि कडा प्रतिस्पर्धीबिच लगातार दोस्रो वर्ष अवार्ड जित्नु ठुलो चुनौती होइन ।’ यसैगरी, पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास रचेकी पारा तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई नेपाली खेलकुदको पथप्रदर्शकबाट सम्मानित गरिएको थियो । पलेसा पारा ओलम्पिक पदक जित्ने पहिलो नेपालकी खेलाडी हुन् । गत वर्षको संस्करणमा पलेसाले पारा एथलेट अवार्ड पाएकी थिइन् ।
आयोजक नेपाल खेलकुद पत्रकार (मञ्च)ले भोटिङका आधारमा पिपुल्स च्वाइस अवार्ड प्रदान गर्छ । यसपटक भलिबलका हिमाल सुनारीले अवार्ड जितेका छन् । पिपुल्स च्वाइस अवार्ड सुरु भएदेखि नै भलिबलले अधिपत्य जमाइरहेको छ । पहिलोपटक पोखरामा आयोजित अवार्डमा आफू विजेता हुँदा हिमालले ऐतिहासिक क्षण भएको बताए । उनले आफ्ना चार प्रतिस्पर्धीलाई भोटिङका आधारमा पछाडि पारेका थिए । अन्तिमसम्म हिमाललाई फुटबलकी रेखा पौडेलले चुनौती प्रस्तुत गरेकी थिइन् । आयोजक मञ्चले पहिलोपटक अवार्ड मोफसलमा आयोजना गरेको हो । यसअघि २१औँ संस्करण काठमाडौंमा भएको थियो ।
दीपेन्द्रसिंह पहिलोपटक विजेता
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंहले अवार्ड जित्दा गत वर्ष क्रिकेटमा महत्वपूर्ण योगदान दिएका थिए । उनले पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई फाइनल पुर्याएका थिए । वर्ष पुरुषको मनोनयनमा उनले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजयी सिँजाली, टेबुलटेनिसका स्यान्टु श्रेष्ठ र खो–खोका जनक चन्दलाई पछि पारे ।
एरिकाद्वारा उपाधि रक्षा
लगातार दोस्रोपटक अवार्ड जित्ने क्रममा एरिकाले गत वर्ष एसियाली कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । यस विधामा उनले फुटबलकी रेखा पौडेल, कराँतेकी एलिसा रासकोटी मगर, खो–खोकी मानमती विष्ट र भलिबलकी सलिना श्रेष्ठलाई निराश बनाइन् ।
पलेसाले जितिन् ‘ट्रेलब्लेजर अफ दी इयर’ अवार्ड
मञ्चले पारा तेक्वान्दो खेलाडी पलेसालाई ‘ट्रेलब्लेजर अफ दी इयर’ अवार्ड प्रदान गरेको छ । पलेसालाई सरप्राइज रूपमा सम्मान गरिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । पलेसाले पेरिस, २०२४ पारा ओलम्पिक र हाङझाव एसियन पारा गेम्समा कांस्य पदक जितेकी थिइन् । उनले अहिलेसम्म ६ अन्तर्राष्ट्रिय पदक प्राप्त गरेकी छिन् । जसमा दुई स्वर्ण र चार कांस्य पदक रहेको छ ।
उत्कृष्ट प्रशिक्षकमा कविराज
अवार्डको महत्वपूर्ण विधाअन्तर्गत प्रशिक्षक हो । यसपटक पारा तेक्वान्दोका कविराज नेगी लामा उत्कृष्ट प्रशिक्षक बनेका छन् । यस विधामा कविराजसँगै कराँतेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो–खोका लक्ष्मीनारायण वैद्य मनोनयनमा परेका थिए । कविराजले निरन्तर रूपमा कीर्तिमानी पारा तेक्वान्दो खेलाडी पलेसालाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
पूजा बनिन् युवा खेलाडी
नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतो उत्कृष्ट युवा खेलाडी बनेकी छिन् । पूजाले वर्ष युवा खेलाडी बन्दा एथलेटिक्सका अजय विक, कराँतेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङलाई पछि पारेकी थिइन् । अवार्ड जितेपछि पूजाले एनएसजेएफलाई धन्यवाद दिँदै अवार्ड अभिभावकप्रति समर्पित गरेको बताइन् । गत वर्ष पूजाकै उत्कृष्ट प्रदर्शनमा नेपालको उमेर समूहको महिला टोली आइसिसी यू–१९ विश्वकपमा पहिलोपटक छनोट भएको थियो । सो विश्वकपमा उनी सर्वाधिक रन बनाउने खेलाडी बनेकी थिइन् ।
हिमाललाई सर्वाधिक भोटिङ
धेरै भोटिङका आधारमा भलिबलका हिमालले पिपुल्स च्वाइस अवार्ड हात पारेका हुन् । यस विधामा हिमालले क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबुलटेनिसकी इभाना थापा र उसु खेलाडी विजय सिँजालीबाट प्रारम्भिक चरणमा कडा चुनौती पाएका थिए । पिपुल्स च्वाइसमा खसेको भोटिङमध्ये हिमालले सर्वाधिक ४९ प्रतिशत मत पाएका हुन् । दोस्रो स्थानमा फुटबलकी रेखा पौडेल रहिन् ।
प्रभा उत्कृष्ट पारा एथलेट
प्रभा आङ्देम्बेलालाई उत्कृष्ट पारा एथलेटको अवार्ड प्रदान गरिएको छ । प्रभाले गत फागुनमा भारतको नयाँदिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमा रजत पदक जितेकी थिइन् । उनले विश्व पारा एथलेटिक्स लङजम्पमा रजत पदक हात पारेकी थिइन् ।
विश्वकप उपविजेता खो–खो उत्कृष्ट टोली
पहिलोपटक खो–खो विश्वकपमा रजत पदक जित्ने नेपाली पुरुष र महिला टिमलाई ‘टिम अफ द इयर’ अवार्ड प्रदान गरेको छ । भारतमा भएको खो–खो विश्वकपमा नेपालको पुरुष र महिला टोली फाइनलमा पुगेको थियो । पुरुष तथा महिलातर्फको उपाधि भिडन्तमा नेपाली टोली आयोजक भारतसँग पराजित भएको थियो । विश्वकपमा टिम स्पर्धामा नेपाललाई पदक दिलाउने खो–खो पहिलो टिम हो ।
रानाभाटलाई लाइफटाइम अचिभमेन्ट
मञ्चले खड्ग रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्यो । खेल क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाप्रति सम्मान व्यक्त गर्दै यो अवार्ड दिइन्छ । रानाभाटले १४ वर्षको उमेर ०२० बाट आफ्नो खेलजीवन सुरु गरेका थिए । उनी एथलेटिक्स, भलिबल र फुटबलका राष्ट्रिय खेलाडी हुन् । उनले सन् १९७० मा थाइल्यान्डको बैंककमा सम्पन्न छैटौँ एसियाली खेलमा तीन हजार मिटरको स्टिपल चेजमा आठौँ स्थान हासिल गरेका थिए । ०४१ मा राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रशिक्षक रहेका रानाभाट ०६८ मा परिषद्को सदस्यसमेत बनेका थिए ।
गुरुङलाई स्पेसल अवार्ड
मञ्चले तेक्वान्दोका प्रशिक्षक तुलसी गुरुङलाई स्पेसल अवार्ड प्रदान गरेको छ । गुरुङ तेक्वान्दोमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली हुन् । उनले सन् १९८२ र १९८३ मा हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसनमा स्वर्ण पदक जितेका थिए । तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम उपाधि नै नवौँ डान हो । ०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आर्टस्तर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए ।