भारतमै खेल्न बंगलादेशलाई आइसिसीको निर्देशन

आइसिसी भन्छ– कि भारतमै आएर खेल्नू, नत्र अंक गुमाउन तयार हुनू

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)लाई आसन्न टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा भारतमै प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ । भारतमा विश्वकप नखेल्दा बंगलादेशले अंक गुमाउने चेतावनी पनि आइसिसीले दिएको छ । बंगलादेशले आफ्ना खेलाडीहरू भारतमा सुरक्षित नहुने जनाउँदै आफ्ना तीनवटै खेल श्रीलंकामा खेलाउन आग्रह गरेको थियो । तर, आइसिसीका अध्यक्ष जय साहले बंगलादेशको माग अस्वीकार गर्दै भारतमै प्रतिस्पर्धा गर्न दबाब दिएका छन् । आइसिसीले बंगलादेशको माग अस्वीकार गरेको भारतीय एजेन्सीले जनाएका छन् । 

यो निर्णयसँगै आइसिसी र बिसिबीबिच विवाद देखिएको छ । आइसिसीले बंगलादेशलाई भनेको छ, ‘कि भारतमै आएर खेल्नू, नत्र अंक गुमाउन तयार हुनू ।’ आइसिसीका अध्यक्ष साहले बुधबार जारी विज्ञप्तिबारे बंगलादेशले तत्कालै निर्णय गरेको छैन । बिसिबीले आइसिसीबाट आफूहरूलाई त्यस्तो कुनै अल्टिमेटम नआएको बताएको छ । बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानबाट भारत र बंगलादेशबिच विवाद सुरु भएको हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले रहमानलाई रिलिज गर्न कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएको थियो । बिसिसिआईको निर्देशनपछि कोलकाताले रहमानलाई टोलीबाट हटाएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल)को फ्रेन्चाइज टोली कोलकाताले रहमानलाई निकालेपछि बिसिबीले भारतमा हुने टी–२० विश्वकपअन्तर्गत आफ्ना तीनवटै खेल सहआयोजक श्रीलंकामा हुनुपर्ने माग राखेको थियो । गत महिना दुबईमा भएको आइपिएल अक्सनमा कोलकाताले रहमानलाई नौ करोड २० लाख भारुमा किनेको थियो । कोलकाताले महँगो खेलाडीका रूपमा भिœयाएको रहमानलाई टोलीबाट किन हटाइएको भन्ने प्रस्ट जवाफ दिएको छैन । तर, बंगलादेशका एजेन्सीहरूले राजनीतिक नेताको दबाबमा रहमानलाई अपमान गरी निकालेको दाबी गरेका छन् । 

२ अंक खोसिने चेतावनी
आइसिसी कार्यसमितिको मंगलबार भएको भर्चुअल बैठकले सुरक्षाको कारण देखाउँदै बंगलादेशको खेल भारतबाट सार्ने प्रस्ताव मान्य नहुने निर्णय गरेको छ । भारतमा नखेल्दा बंगलादेशलाई शून्य अंक दिने चेतावनी दिइएको छ । बंगलादेशले आइसिसीको निर्देशन नमान्दा र आफ्नो अडान यथावत् राख्दा विश्वकपको खेल तालिकाअनुसारका प्रतिद्वन्द्वी टोलीले ती खेलमा पूर्ण २ अंक पाउनेछन् । आइसिसीले बंगलादेशलाई आफ्नो पूर्वनिर्णयमा पुनर्विचार गर्न आग्रहसमेत गरेको छ । ‘भारतबाहिर बंगलादेशका खेल आयोजना गर्ने विषयमा ‘विचार गर्न’ अनुरोध छ,’ आइसिसीले भन्यो ।

यसअघि बंगलादेशले भारतमा एकजना खेलाडीलाई सुरक्षा दिन नसक्नेले सम्पूर्ण टोलीलाई कसरी सुरक्षा प्रदान गर्छ भन्ने प्रश्न गरेको छ । टी–२० विश्वकप ७ फेब्रुअरीबाट सुरु हुँदै छ । बंगलादेश समूह ‘सी’मा छ । यस समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड र इटाली छन् । यसै समूहमा बंगलादेशले नेपालविरुद्ध १७ फेब्रुअरीमा मुम्बईको वानखडे रंगशालामा खेल्ने तालिका छ । यसअघिका तीनवटा खेल कोलकाताको इडेन गार्डेनमा छ । बंगलादेशले ७ फेब्रुअरीमा वेस्ट इन्डिज, ९ फेब्रुअरीमा इटाली र १४ फेब्रुअरीमा इंग्ल्यान्डसँग कोलकाताको इडेन गार्डेनमा खेल्ने तालिका छ । 

See More On

सुझावित समाचार