सुदूरपश्चिम प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएका हुन् भने नेपाली कम्युनिस्ट पार्टीले दुवै सिटमा एकल उम्मेदवारी दिएको हो।
कांग्रेसबाट पूर्वमहान्यायाधिवक्ता बाजुराका खम्मबहादुर खाती, एमालेबाट पार्टी केन्द्रीय सदस्य कैलालीकी लीलाकुमारी भण्डारीले मनोनयन दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट कैलालीका टीकाराम जैसी र रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ।
सुदूरपश्चिमबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य एमालेकी शारदादेवी भट्ट र अन्यतर्फ नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वाँरको पदावधि सकिन लागेकाले उनीहरूको स्थानमा निर्वाचन हुन लागेको हो।
सुदूरपश्चिममा कांग्रेस–एमाले गठबन्धनको स्पष्ट बहुमत छ। सुदूरपश्चिममा कांग्रेसको सबैभन्दा बढी दुई हजार ६०७ र एमालेको एक हजार ५३३ मतभार रहेको छ। दोस्रो बढी मतभार नेपाली कम्युनिस्ट पार्टीको छ।
तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा हालै नागरिक उन्मुक्ति पार्टी पनि एकीकृत भएपछि प्रदेश सभामा सबैभन्दा ठुलो दल बनेको यो पार्टीको एक हजार ८१६ मतभार छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको ५३–५३ तथा स्वतन्त्रको ३८ मतभार छ।