सुशासन र उपलब्धिमूलक खर्चमा केन्द्रित हुन मुख्यमन्त्री बानियाँको निर्देशन

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार सुशासन, पारदर्शिता र उपलब्धिमूलक खर्चमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकासका नाममा बजेट खर्च भए पनि स्पष्ट उपलब्धि नदेखिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । 

खर्च भएको बजेट कुन शीर्षकमा, किन र कसरी खर्च भयो भन्ने कुरा आमनागरिकले देख्न र बुझ्न पाउने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।

‘हरेक वर्ष पुँजीगत र साधारण बजेट छुट्याइन्छ, खर्च पनि हुन्छ, तर परिणाम देखिँदैन भने त्यसको कुनै अर्थ रहँदैन,’ उनले भने, ‘निर्णय र कार्यान्वयनबिच तालमेल नहुँदा प्रदेश सरकारले गरेका धेरै निर्णय वर्षौँसम्म कार्यान्वयनमा नआएको अवस्था देखिएको छ ।’

मुख्यमन्त्री बानियाँले तीन तहको सरकार कार्यान्वयनमा आएसँगै विकास निर्माण र कार्यान्वयनको मुख्य जिम्मेवारी प्रदेश सरकारमा आएको बताए । केन्द्र सरकार नीति निर्माणमा सीमित हुने र प्रदेश सरकारले भूगोलअनुसार विकासको नेतृत्व लिनुपर्ने उनको धारणा थियो ।

प्रदेश सरकार संघीयताको पहिचान र प्रतिस्पर्धाको केन्द्र भएको उल्लेख गर्दै उनले संघीय संरचनाको नयाँ तह भएकाले चुनौतीसँगै अवसर पनि रहेको उल्लेख गरे । चुनौती र अवसरलाई सँगसँगै लिएर प्रभावकारी काम गर्न सके प्रदेश सरकारप्रति जनविश्वास बढ्ने मुख्यमन्त्री बानियाँको विश्वास छ । उनले सुशासन केन्द्रमार्फत सञ्चालन गरिएका तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिए । निजामती कर्मचारीलाई व्यवस्थित, सक्षम र जिम्मेवार बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेशका मुख्यसचिव तथा सबै सचिवहरूलाई प्रभावकारी व्यवस्थापन र आपसी समन्वयमा ध्यान दिन निर्देशन दिए ।

सुझावित समाचार