राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा एमाले–कांग्रेस गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन्। तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली कांग्रेसबाट दाङका वासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी तथा एमालेबाट गुल्मीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन्।
जंगली अपांग क्लस्टर, झाँक्री महिला क्लस्टर र केसी खुल्ला क्लस्टरबाट उम्मेदवार बनेका हुन्। उनीहरूले मंगलबार साढे २ बजेतिर दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
लुम्बिनीमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८,७५३ मतभार छ। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४,६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४,१४२ रहन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ।
यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३,१७९ रहेको छ। एमालेको २,८१० र नेपाली कम्युनिस्ट पार्टीको १,३९६ छ। त्यस्तै, राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टाीको ३८ र स्वतन्त्र ५३ मतभार छ।