- राज्य कर्मशील नबनेसम्म नीति नागरिकमुखी हुँदैन, पसिना बगाउनेहरू हारिरहन्छन्, परिवार विखण्डित भइरहन्छ र सन्तान भविष्यको अन्धकारमा भासिइरहन्छन्
आज हाम्रो समाज अभियोग पत्र लिएर आएको छ र कठघरामा उभिएको छ, मात्र राज्यको नीतिगत अकर्मण्यता प्रस्तुत गर्न । यहाँ व्यक्ति विशेष अपराधी होइन, अपराध व्यवस्थाले गरेको हो । जसले श्रमलाई निर्वासनमा पठायो, परिवारलाई विखण्डन गर्यो र सम्बन्धलाई असुरक्षित बनायो । राज्यले जब नागरिकलाई स्वदेशमै पसिना बगाउने अवसर दिन सकेन, तब लाखौँलाख नागरिक परदेसिन बाध्य भए । उनीहरू अपराधी थिएनन्, विवश थिए । घरमा रोग र भोकको क्रन्दन थियो । जीवनका आशा सम्भावना तथा सपना थिए, परन्तु राज्य मौन थियो । वैदेशिक रोजगारीबाट परितोषिक मुलुकमा भित्रिन्थ्यो, परन्तु बदलामा अनिश्चितता, घर, परिवारको रुग्ण दारुण कथा, अन्तत: निर्वासनको अँध्यारोमा जीवनको हार व्यहोर्नुपर्यो नेपाली युवाले ।
गतिशील समयको दूरी मात्र भौगोलिक रहेन । भावनात्मक बन्यो । वर्षौंसम्म पतिको अनुपस्थितिमा रहँदा घरभित्रै एक्लोपनले जरा गाड्यो । नजानिँदो ढंगले पुरुष मित्रता बढ्दै गयो । प्रतिलिंगीय मित्रताले एक्लोपनको भाव स्पर्श गर्न थाल्यो । थाहै लागेन, संसर्ग भावनात्मक उद्वेगमा वासना हुँदै प्रेममा बदलियो । उप्रान्त डग्न थाल्यो नैतिकता । सञ्चार भयो वासना, अन्तत: प्रेमांग बदलियो, मातृ वात्सल्य खस्यो गर्तमा । परपुरुषको अंगालोमा समाहित भयो अस्तित्व । बारम्बारको निकटताले गोपनीयता प्रतिरक्षित हुन सकेन, सन्तानका अगाडि बाबु खोसिएको यथार्थ, मातृवात्सल्य जीवित राख्ने चाहभित्रै मर्यो । पसिना बगाएर घरपरिवारको रक्षा गर्ने अभिभावकको अस्तित्व नामेट भएको हृदयविदारक कथा कसरी उल्लेख गर्ने ? कति गहिरो घाउ, कसरी सहन गर्ने ?
सबैभन्दा ठुलो सजाय सन्तानले भोगे । न पिताको आश्रय, न त मातृप्रेम ! वृद्ध पितामाता निभ्दै गरेको दियोको सन्नाटाभित्रबाट परदेसिएका सन्तानको आगमनको प्रतीक्षामा छन् । छोरो विदेश, बुहारीको त्यो हविगत ! नातिनातिनाको अनिश्चित भविष्य, कुहिरोको कागजस्तो अन्योलपूर्ण जीवनको उत्तरार्ध कसरी सहन गर्ने ? राज्यले वृद्धभत्ता त भर्ला, परन्तु छातिभित्रको रित्तोपन किमार्थ भर्नेछैन ।
देशको ग्रामीण क्षेत्रको मात्र अध्ययन गर्ने हो भने हिजो परिवार पालिएको जमिन पूर्णत: बाझिएको छ । बस्ती रित्तिँदै छन् । सुनसान निर्जन घर, आफ्नो प्रतिरक्षाको पर्खाइमा भएको आभास हुन्छ । जहाँ जीवनको अस्तित्व छ, त्यहाँ तिनै अभागी परिवारको आत्मकथासिवाय देशको भविष्य देखिँदैन ।
दलका प्रतिनिधि, नागरिकका अन्तर भावनामाथि खेलबाड गर्न छाड्दैनन् । हामीलाई हाम्रै विचारले यहाँसम्म ल्यायो । हाम्रै दृष्टिकोणले यस्तो दलदलमा भास्यो । निस्कने निकास कहीँ कतै देखिँदैन र पनि व्यवस्थाप्रतिको अनुराग मेटिँदैन । कस्तो विचार जमाइएछ दिमागमा ? कसरी देशको अस्तित्व रक्षा गर्ने ? हामी दल प्रतिनिधिले के आत्मबोध गरौँ भने हामी लिलामीका घोडा भइसकेका छौँ । अब पनि ढाँटेर आत्मरतिको संसार निर्माण नगरौँ । हामीलाई यो अवस्थामा पुर्याउने, नेतृत्वमा पुर्याइएका दल प्रतिनिधि नै हौँ । हाम्रो नीतिगत अकर्मण्यता नै समस्याको जड हो । अब त पुरातन सोचले काम गर्दैन । युग प्रविधिले धेरै ठुलो उच्चता हासिल गरिसक्यो । हाम्रा थोत्रा दिमाग युगको उचाइमा पुग्नै सक्दैनन् । हामीले पुस्तान्तरको दरार भर्नै सक्दैनौँ । आजको विज्ञान प्रविधिको उच्चता देख्ने आजकै पुस्ता छ त किन लिसो लाग्ने ? अब त अभिभावक बन्दा बढी सम्मान हुन्छ ।
नयाँ पुस्तासँग प्रश्नैप्रश्न छन् । यदि राज्यले रोजगारी सिर्जना गरेको भए ? यदि नीति परिवारमैत्री बनाएको भए ? यदि स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण बनेको भए ? कृषि क्रान्ति हुन सक्थ्यो, औद्योगिक क्रान्ति हुन सक्थ्यो । पर्यटन उद्योगले विश्वका नागरिकलाई आकर्षण गर्न सक्थ्यो । जडीबुटीको विषयमा मात्र सोचिएको भए हिमाली जिल्लाले आत्मनिर्भर अर्थ व्यवस्था तयार गरिसक्ने थिए । हाम्रो दृष्टिभंगीमा नउग्रिएको हो, स्विकार्नैपर्छ । विदेशमा पसिना बगाएर देश, अझ घर उजाडिएको कसलाई स्वीकार्य छ ? के सन्तान मूल्यहीन हुँदा रमिते बन्नु बहादुरी हो ?
तथापि, दोष व्यक्तिमाथि थोपर्नु कायरता हो । दोषी त त्यो राज्य हो, जसले नीतिमा संवेदना प्रस्तुत गरेन । तथ्यांकमा गर्व गर्यो र समाजको आत्मा उपेक्षित भयो । आज देखिएको पारिवारिक विघटन, नैतिक विचलन र सन्तानको विचल्ली कुनै संयोग होइन । यो अकर्मण्य नीतिको अनिवार्य परिणाम हो । हामी आफूले आफैँलाई धिक्कार्नुपर्छ । हाम्रा श्रमशील पाखुरा वैदेशिक निर्वासनमा थुनिएका छन् त कसरी जोतिन्छ जमिन, र फल्छ फसल ? भूमण्डलीय अर्थ निवेश व्यवस्थाले हामीलाई घिच्याएर फिरन्ते श्रमिक बनाएको किमार्थ होइन । हाम्रै अकर्मण्य नीतिगत व्यवस्थाले स्वदेशमै मानसिक शरणार्थी बनाएको हो । हामी भौतिक निर्माणलाई विकास भन्छौँ नि ! अन्तर गहिराइमा पसेर हेरौँ त, विकासको पूर्वचित्र सम्भावनाको निकट क्रियाशील दिमागमा हुनुपर्छ ।
हामीले त मानव आवादको अनुपातमा लगानीमैत्री वातावरण बनाएर सामूहिक उत्पादन प्रणालीकै सुरुवात गर्नुपर्थ्यो । भूस्वामित्वको विषयमा आपसी समझदारी निकास हुन सक्थ्यो । स्थानीय सरकारले मध्यस्थ गथ्र्यो । जग्गाको चक्लाबन्दी, ब्लक उत्पादन, उत्पादित वस्तुको प्रशोधन र बजारीकरण गर्ने मात्र व्यवस्था स्थापित भएको भए, के हामी लखेटिनुपर्थ्यो ? विकसित देशहरू त्यत्तिकै कहाँ त्यो उचाइमा पुगेका हुन् र ? नागरिकको साथविना कसरी विकास सम्भव छ ?
हामी मात्र प्रश्न सूचक भयौँ र दिशाविहीन यात्रा सुरु भयो । भविष्य पत्तो नभएका हामी अझ पनि सचेतन दिमागले युगसापेक्ष योजना निर्माण गर्नेछ भन्ने बुझ्दैनौँ र पुरानै आधारमा टासिन्छौँ त युगले कसरी बाजी मार्छ ? हामी थोत्राहरूको अकर्मण्यता देशको नीतिगत व्यवस्थाको कारक किमार्थ बन्नुहुन्न ।
अन्तत: यो लेख करुणाको याचना होइन, आरोप पत्र हो । जबसम्म राज्य कर्मशील बन्दैन, तबसम्म नीति नागरिकमुखी हुँदैन । पसिना बगाउनेहरू हारिरहनेछन् । परिवार विखण्डित भइरहनेछ । शाखासन्तान भविष्यको अन्धकारमा भासिइरहनेछन् । तथापि, हामी ठोकुवासाथ भन्छौँ– मुलुकमा देखिएको श्रम पलायन, परनिर्भर अर्थतन्त्र र परिवारको दारुण विघटनको दोषी निमित्त राज्यको नीतिगत अकर्मण्यता हो ।